
भाद्र,२४ नौरते नेपाली, जुम्ला। जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ चौरका गाउँका ६ देखि १७ वर्षसम्मका ३२ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । आर्थिक, पारिवारिक र बाल विवाह जस्ता समस्याले गर्दा उनिहरुले विद्यालय बाहिर रहेका हुन् ।
वल्र्डभिजन इन्टेरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा घरदैलो कार्यक्रम गर्दा उनिहरु विद्यालय बाहिर रहेको भेटिएका हुन् । पातारासि गाउँपालिका जुम्लासँगको समन्वयमा घरदैलो कार्यक्रम गर्दा ३२ जना बालबालिका विद्यालय बाहिर रहेको किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर धिरनाथ योगिले बताउनु भयो ।
उहाँका अनुसार घरदैलो कार्यक्रममा शिक्षा शाखाका जगतवहादुर शाही, स्वास्थ्य शाखाका रतन बुढथापा, महिलाका शाखाका भगवती गिरी र वडा सचिव शिव प्रसाद धिताल सहितको सहभागितामा परामार्श सहित घरदैलो कार्यक्रम गरिएको बताउनु भयो ।
गाउँपालिकाबाट गएको उक्त टोलिले विद्यालय छोड्नुको समस्या महिचान गर्नुका साथै पुन विद्यालय फर्किन परामर्श दिएको योगिले बताउनु भयो । पारिवारिक समस्या, बाल विवाह, देखासिकि र आर्थिक समस्याले गर्दा विद्यालय छोड्नु परेको सुरे रावतले बताउनु भयो । ७ कक्षा पढ्दै गर्दा विद्यालय छोडेको उहाँको भनाइ छ ।
घरायसी कामले गर्दा समय नभएपछि विद्यालय जानै छोडेको रावतले सुनाउनु भयो । सुरे लगायतका चौरगाउँका अधिकांश बालबालिकाले विद्यालय छोडेका छन् । घास, पात र अन्य घरायसी काममा व्यस्त हुने अधिकांश बालबालिका विद्यालयतह पार हुनु अगावै पढाई छोड्ने गरेका छन् । यो समस्या पातारासि गाउँपालिकाका सबै वडामा छ । पातारासि गाउँपालिकाको साक्षरता दर न्युनि रहेको छ ।
बिचमै विद्यालय छोड्ने भएका कारणले ४५ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाको तथ्याङ्क छ । बिहान र बेलुका घरको काम गर्ने र दिउसो गाईबस्तुसँगै घास दाउरामा समय बिताउने गरेको चिबमै विद्यालय छोड्नु भएका पुन्नकली रावतले बताउनु भयो । बाल विवाहको कारणले ५ कक्षा पढ्दै गर्दा विद्यालय छोडेको उहाँको भनाइ छ ।
अहिले १७ वर्षमा प्रवेश गर्नु भएका रावतले ३ वर्ष पहिले विवाह गरि सक्नु भएको थियो । घर परिवारले गर्दा विवाह हुन रोके पनि पढाई त्यस पछि अगाडी बढाउन नसकेको उहाँले जानकारी गराउनु भयो । घरायसी कामको बोझ, गरिबी र बाल विबाहका कारणले बिचमै विद्यालय छोड्नु परेको पुन्नकली रावतको भनाइ छ ।
बीचमा विद्यालय छोड्नेमा केटाभन्दा केटीको संख्या बढी रहेको पातारासि गाउँपालिका शिक्षा शाखाका जगतवहादुर शाहीको भनाइ छ । केटीहरु विद्यालय छाडेर विवाह गर्ने चलन रहेको उहाँले सुनाउनु भयो । बिचमै विद्यालय छोडेका बालबालिकालाई पुन विद्यालय फर्कन अनुरोध गरेपनि कतिपयले जाने इच्छा देखाएका छन भने धेरैले नजाने इच्छा देखाएको शाहीको भनाइ छ ।
आर्थिक समस्या भएमा कपिकलम र अन्य कुराको बन्दोबस्त गरौँला भने पनि विद्यालय जाने इच्छा नदेखाएको महिला शाखाका भवगति गिरीले बताउनु भयो । बिचमै विद्यालय छोडेका बालबालिकालाई परामर्श दिदा पनि विद्यालय जान कतिपय बालकालिका तयार नभएको उहाँको भनाइ छ ।
बिचमै विद्यालय छोडेर घरमा बसेका बालबालिकाले पुन विद्यालय जान तयार भएमा सहयोग गर्न तयार रहेको किर्डाक नेपाल जुम्लाले जनाएको छ । विद्यालय छोडेका बालबालिकाको अवस्था बुझ्नको लागि घरदैलो कार्यक्रम गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी गराउनु भयो । उहाँका अनुसार विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय हातासम्म पुराउने काम सबै मिलेर गर्नु पर्ने जानकारी गराउनु भयो ।
शिक्षा जीवनमा सबै भन्दा महत्वपूर्ण भएकाले पढ्ने उमेरका बालबालिकालाई स्थानीय सरकारसँगको समन्वयमा पुन विद्यालयसम्म पुराउनु पर्ने शाहीको भनाइ छ ।



karnalipress
२४ भाद्र २०७८, बिहीबार ०७:४०