अटोरिक्साले बढाए जोखिम

फागुन १८,कालिकोट । कालिकोट गत शनिबार गाल्जेमा लागेको १२ वर्षे सत्यदेवीको मेला हेर्न पत्नी तारा,५ वर्षीय छोरा गौरवसहित आएका जुम्लाको हिमा–४ कुडुका ३५ वर्षीय विर्षबहादुर शाहीको खल्लागाडामा अटो दुर्घटना हुँदा मृत्यु भयो । मोडमा अनियन्त्रित भई अटो पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । भने पत्नी र छोरालाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ । उनी नाग्मकै ऐमान बुढाले चलाएको अटोरिक्सा चढेर मेला हेर्न जान लागेका थिए ।

तीव्र गति,चालकले मदिरा सेवन गर्ने,साँघुरो र अप्ठेरो सडकका कारण जिल्लामा अटोरिक्सा दुर्घटना बढ्दै गएको छ । डीएसपी जयश्वर रिमालका अनुसार असुरक्षित ओभर टेक पनि दुर्घटनाको अर्को कारण हो । गत असोज दोस्रो साताको अविरल वर्षापछि क्षतविक्षत भएको कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्ड पूरै बिग्रिएकाले ३ पांग्रे अटो चलाउन जोखिम रहेको उनले बताए । उनका अनुसार गत वर्ष ५ वटा अटो दुर्घटना भए भने साउनयता यात्रुको मृत्यु हुने गरी दुईवटा दुर्घटना भएका छन्।

कर्णाली राजमार्गस्थित दैलेखको दैखोलादेखि जुम्लाको सिमाना नाग्म बजारसम्म ७० किमि सडक कालिकोट खण्डमा पर्छ । उक्त खण्डामा स्थानीय रुटमा गाडी नचल्दा अटोरिक्साकै भर रहेको खाडाचक्र–७ पिलीका जनक मल्लले बताए । तर स्थानीय सरकारले कार्यविधि नबनाउँदा जथाभावी बढेको उनले बताए ।
‘न कुनै निकायमा दर्ता छन् न चालकको लाइसेन्स नै छ,’ उनले भने, ‘अटोलाई व्यवस्थित गर्न सके यात्रा सहज र सुरक्षित हुने थियो ।’ खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रबलजंग शाहीले केही अटो दर्ता गरेका र बाँकीको दर्ताका लागि कार्यविधि बनाउन लागिएको बताए । उनका अनुसार भाडादर पनि तोक्ने नगरपालिकाको तयारी छ ।

कालिकोटमा सञ्चालन भएका अटोरिक्साले मनपरी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठकको आयोजना गरी आवश्यक कार्यविधि निर्माण गर्न नगरपालिकालाई अनुरोध गरेको छ ।
जसअनुसार चालक अनुमतिपत्र अनिवार्य लिनुपर्ने,सवारीसाधन दर्ता गर्नुपर्ने, अटोरिक्सा चालक र यात्रुको बिमा गर्नुपर्ने,ब्लुबुकमा उल्लेख भएअनुसार मात्र यात्रु ओसारपसार गर्न पाउनेलगायत निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । उनका अनुसार बैठकमा सहभागी २७ जना अटो चालकमध्ये १५ जनाको लाइसेन्स नभएको पाइएको छ ।

जिल्लाभरि झन्डै ४० अटोरिक्सा सञ्चालन रहेको पाइए पनि स्थानीय तहमा दर्ता भएका छैनन् । चालकले भने तेलको मूल्य बढे पनि भाडा दर नबढेको गुनासो गर्छन्। खाँडाचक्र–६ दाहाका अटो व्यवसायी हरेन्द्रबहादुर शाहीले डिजेल प्रतिलिटर २ सय रुपैयाँ पर्छ तर भाडादर २ वर्षअघिकै भएको गुनासो गरे । उनका अनुसार खाँडाचक्र–६ मोल्फामा मात्र १६ वटा अटो सञ्चालनमा छन् । अटो खरिद गरेर सबै ठाउँमा लाग्ने कर बुझाउँदा ६ लाख ६० हजार रुपैयाँ लगानी भएको उनको भनाइ छ । पछिल्लो ४ वर्ष यता कर्णालीमा विभिन्न सवारी दुर्घटनामा परी ४ सय ३८ जनाले ज्यान गुमाएका छन्।