बाँकेको मेडिकल स्टोरमा निसास्सिएर कालिकोटका चार जनाको मृत्यु

सुर्खेत । बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर कालिकोटका चार जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगी कालिकोट खाँडाचक्र नगरपालिका– ६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराईको सात जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीया बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए । बुधबार देशभर वर्षा हुँदा चिसो बढेको थियो । राति कोइला बालेर सुतेको र निसास्सिएर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए ।