जुम्लामा बाढीले घट्ट बगाउँदा एक महिलाकाे ज्यान गयाे

श्रावण १४, जुम्ला । जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाकाे ज्यान गएकाे छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने  महिलालाई बाढीले बगाएकाे प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताउनु भयाे। पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बाेहराका अनुसार बाढी आएपछि दौडन नसकेर उहाँलाई बगाएकाे हाे ।

उहाँसँगै घट्ट गएका मुनसोभा बाेहरा र जसकला रावत  भने भागेर बाँच्न सफल भएका छन् । बाढीले  बगाएर ज्यान गुमाएकी महिलाकाे शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बाेहराले बताउनु भयाे।

बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएकाे वडाध्यक्ष बहोराले जानकारी दिनुभयो ।