रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

श्रवाण ४, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ ।गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् ।

छोपिएको आधाभन्दा बढी भागको त्रिपाल सडेर हटिसकेको सशस्त्र प्रहरीको इनर्वा बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल बताउँछन् । ‘यो कसैले गरिदिएको होइन । बर्षाको पानीले सडेर हटेको छ’ उनी भन्छन्, ‘आधाभन्दा बढी भागको त्रिपाल सडिसकेको छ । अझै हट्ने क्रम जारी छ ।’

 

जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल गरेर ल्याएको थियो ।भारतको कोकन रेल्वे कर्पोरेसनबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

 

हस्तान्तरण गरिएको रेल जयनगरबाट जनकपुरसम्म ल्याइएको थियो । २ असोजमा जनकपुर आएको रेल ३ असोज २०७७ देखि इनर्वा स्टेशनमा पार्किङ गरेर राखिएको छ ।रेल छोपिएका त्रिपाल हट्दै जाँदा पनि रेल कम्पनीले चासो दिएन । यस सम्बन्धमा रेल्वे विभागका महाप्रबन्धक भट्टराईलाई फोन गर्दा उनको फोन उठेन ।

 

 

आइतबार मात्रै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको छ । ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौडने भनिएपनि गति कमै देखिएको थियो ।