मान्म-कोडवाडा केबुलकार निर्माण गरिने

फागुन १७, कालिकोट ।  कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माण गरिने भएको छ। सोमवार कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा मान्म–कोडवाडा केबुलकार सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदनमाथि छलफल गरिएको हो।

यस आयोजनाको जम्मा लागत १ अर्ब १४ करोड ८४ लाख ६५ हजार लाग्ने अनुमान गरिएको छ। यसको लम्बाइ २ हजार १ सय ४७ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ भने प्रतिसेकेन्ड ६ मिटर हिँड्ने र एक पटकमा १५ जना आउन/जान पाउने छन्। यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान ६ मिनेट लाग्ने छ। कालिकोटमा केवुलकार आयोजना सञ्चालनमा आएपछि जनताले यातायात सेवामा पहुँच, पर्यटन क्षेत्रको विकास प्रवद्र्धन हुनुका साथै जनताको आर्थिक अवस्था परिवर्तन हुने अपेक्षा गरिएको छ।

रोप्य केवलकार निर्माण कम्पनी प्रालि ललितपुरले १७ लाख ३० हजारमा सम्भाव्यता अध्ययन गर्ने जिम्मा लिएको पूर्वाधार विकास कार्यालय, कालिकोटका प्रमुख रामचन्द बिसीले जानकारी दिए।

२०६४ सालदेखि केवुलकारको कुरा उठेको थियो तर सम्भाव्यता अध्ययन गर्न पनि १५ वर्ष लागेको स्थानीयले बताएका छन्। मान्म–कोडवाडा केबुलकार निर्माणपछि पर्यटन प्रबद्र्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा रहेको छ। अहिले मान्मदेखि कोडवाडा जान गाडीमा ३ घण्टा र पैदल जाँदा ६ घण्टा लाग्ने गरेको छ। नरहरिनाथको कोडवाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ। केबुलकार तयार भए मात्र आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन्। मान्म–कोडवाडा केबुलकार निर्माणको लागि प्रतिनिधिसभाका सांसद महेन्द्रबहादुर शाहीले आफ्नो तर्फबाट पहल गरिरहेको बताए।

यस्तै कर्णाली प्रदेशका सांसद हिक्मत बिष्टले निरन्तर पहल गरिरहेको बताएका छन्। उनले आफू निर्वाचित भएदेखि निर्माण गर्नका लागि सबैतिर पहल गरेको बताए। मान्म–कोडवाडा केबुलकारको अन्तिम रिपोट सुनाउँदै निर्माण कम्पनीका गुणराज ढकालले यो आयोजना निर्माण सम्पन्न गर्न १८ महिना लाग्ने बताए। उनले भने आर्थिक रकम जुट्यो भने निर्माण गर्न धेरै समय नलगाउने बताए।

सहभागिहरूले मान्म–कोडवाडा केबुलकार निर्माण छिटो गर्न सांसद र मन्त्रीहरूलाई सुझाब दिएका छन्।