राकम कर्णालीमा एक सय शैयाको अस्पताल बन्दै

आठबिस नगरपालिका –३ जाक्सिमा अस्पताल निर्माण गरीने ठाउँको अनुगमन गदै । तस्विर ः ललित विष्ट राकम कर्णाली दैलेख।

ललित विष्ट फागुन ९,कालिकोट । जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टर सहितको एक सय बेडको अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । २०७६ फागुन १० गते नगरपालिका र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।

नगरपालिका र प्रतिष्ठान बीचको सम्झौता अनुसार राकम कर्णालीमा एक सय शैयाको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माण हुनेछ । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ ।

शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ जाक्सिमा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भईसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए । उक्त जग्गा नगरपालिका र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ । अस्पताल निर्माणको लागि डिपिआर निर्माणको काम भईरहेको नगरप्रमुख बडुवालले बताए । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भईसकेको छ ।

हाल नगरले राकम कर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रवाह गरिरहेको छ । उक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा प्रतिष्ठानले चिकित्सक खटाएको छ। अस्पतालमा आधारभुत भौतिक व्यवस्थापनहरु एक्सरे,भीडियो एक्सरे,इसिजी ल्याबसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याईएको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष तयार तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगर उप–प्रमुख कल्पना थापाले बताइन् ।

२०७८ माघ १६ गते नगरप्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारबीच भएको सम्झौता अनुसार प्रतिष्ठानले हालको आधारभुत अस्पतालमा थप विशेषज्ञ सेवाका लागि जनशक्ति परिचालन गर्ने नगरले बजेट व्यवस्थापन गर्न बाँकी छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाहले राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकमकर्णालीमा आउँदा अस्पताल निर्माण भईसक्ने बताइन् । उनले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृष्य वा अदृष्य रुपमा निरन्तर उठाउने बताइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताए । डा. रावलले आगामी दुई वर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याईने दाबी गरेका छन् ।