मनकारी डाक्टर जसले दुई वर्षीया बालकाको उपचारमा सघाइन्

ललित विष्ट बैशाख ७,कालिकोट  । घर नजिकै खेल्ने क्रममा पचालझरना–४ का दुई वर्षीय बालक मनिष न्यौपानेको हाल आगोले पोलियो । समयमै उनले उपचार पाइदिएको भए पोलिएको भाग निको भइसक्थ्यो । उपचार नपाउँदा पोलिएको हात पाक्दै गयो । किरा पर्न थाल्यो । मनिषका बुवाको बोली फुट्दैन् । आमा हिँड्न सक्दिनन् । दुई वर्षे भाईको उपचारको जिम्मेवारी १६ वर्षीया दिदी मनिषाको बाँधमा आएको छ ।

भाईलाई बोकेर मनिषा अहिले जिल्ला अस्पताल मान्मा आएकी छन् । अस्पतालले राम्रो ठाउँमा लगेर मनिषको हातको अप्रेशन गर्नुपर्ने बताएको छ । उनीसँग भाईलाई उपचार गराउने पैसाको अभाव छ । समयमै ल्याइदिएको भए यति समस्या हुन्थेन्,’ उनले भनिन्, अहिले अस्पतालले राम्रो ठाउँमा लगेर हातको अप्रेशन गर्नु भनेको छ, हामीसँग पैसा छैन् ।’

उपचारका लागि आएका विरामीको आर्थिक अवस्था दयनीय देखेपछि जिल्ला अस्पताल कालिकोटमा कार्यरत डाक्टर रमिता नाथ योगीसहितका स्टाफहरुले केही रकम जम्मा गरे । कालिकोटबाट काठमाडौंसम्म पु¥याउन सहयोग गरे । मनिषाले भाईलाई लगेर काठमाडौं गइन् । त्यहाँ पनि उनको अप्रेशन हुन पाएन् ।

‘काठमाडौं पुगेपछि कान्ति बाल अस्पतालमा चेकजाँच गरायौं, डाक्टरले ज्वरो आएकाले अप्रेशन हुँदैन् भने,’ उनले भनिन्, ‘उपचार नगराएरै भाईलाई घर ल्याएर आएँ ।’ ज्वरो सन्चो भएर हातको अप्रेशन गर्नका लागि उनीसँग आर्थिक स्रोत थिएन् । सहयोगी कोही फेला पारिनन् । उपचार नगराएरै घर फर्किएको थाहा पाएपछि डा. योगीले उनलाई फेरि जिल्ला अस्पताल बोलाइन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग सहकार्य गरिन् । मनिषको हातको अप्रेशन सफल भयो । ‘त्यहीँ बेला दिदी मनिषाको एसईई परीक्षा आउँदै थियो,’डा. योगीले भनिन्,‘जुम्लामा अप्रेशन गरेपछि जिल्ला अस्पताल कालिकोटमा ल्याएर बालकलाई मैलेनै उपचार गरेँ ।’ डा. योगीका कारण भाईको उपचार संभव भएको मनिषाको भनाई छ ।

‘बालबालिकाको उपचारमा अभिभावक आउँथे, घरमा बुवा बोल्न नसक्ने र आमा हिँड्न नसक्ने भएकाले मनिषाले भाईलाई उपचारका लागि आएकी थिइन्,’ उनले भनिन्, ‘मानवीयताका कारण पनि हामीले सक्दो सहयोग ग¥यौं, उपचार संभव भयो ।’