एमाले उपाध्यक्ष नेम्बाङको निधन

काठमान्डौ। संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ ।  एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

२०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।