गाल्जेबाट नुन दिन सुरु

ललित विष्ट चैत्र २९,कालिकोट ।  कालिकोटको तिलागुफा नगरपालिका– १० रुडुका अनिपाल रोकाया गाउँमै आयोडिनयुक्त नुन पाउदा खुसी छन्। आयोडिनयुक्त नुन लिनका लागि सधैं सदरमुकाम जानुपर्नेमा बाध्यता हटेर यसपटक गाउँमै नुन पाएपछि उनीमा खुसी छाएको हो।

पाँच पाकेट नुनका लागि अढाई हजार रूपैयाँ खर्च गरेर सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको छ। तिलागुफा नगरपालिकाले गाउँमै नुन डिपो स्थापना गरी नागरिकलाई नुन दिन सुरु गरेपछि स्थानीय खुसी भएका छन्। राजधानीमा सुनको खाँचो भए पनि कर्णालीका गाउँमा नुनको खाँचो छ। सरकारले अझै आयोडिनयुक्त नुन गाउँमै पु¥याउनु सकेको छैन।

तिलागुफाका नागरिकका लागि पालिकाको केन्द्र गाल्जेमा डिपो स्थापना गरी वितरण सुरु गरेको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। ‘पाँच केजी प्याकेट नुन लिनका लागि जनताले सदरमुकाम धाउनु परिरहेको छ। यसका लागि स्थानीयले तीन हजारदेखि चार हजार रूपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ। यो बाध्यता हटाउन पालिकाको केन्दमा नुन डिपो राखेर नुन दिन सुरु गरेका छौं।’

अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ। त्यसैले आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरेका छौं। अब जनताले ढुक्क भए हुन्छ आयोडिनयुक्त नुन गाउँको डिपोमा संकट हुन दिँदैनौं,’ उनले भने।

जिल्ला सदरमुकाम मान्ममा जाँदा एक पाकेटको नौ रूपैयाँ पथ्र्याे भने गाउँमै नौ रूपैयाँले किन्न पाउनु भनेको स्थानीयबासीका लागि सहज भएको स्थानीय युवा जीवन शाहीले बताए। उनले भने, ‘नुन लिन आउँदा नेपाली नागरिकता ल्याएर आउनुपर्ने रहेछ। यस्तो झन्झट चाहिँ नागरिकलाई नदिएको भए हुने हो।’

पाँच पाकेट नुनका लागि जिल्ला सदरमुकामा धाउनुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीय नुन लिन गाल्जेमा भीड नै लागेको छ। आइतबार मात्र चार सय ५० जनाले नुन लगेको नगरपालिकाले जनाएको छ। गत हप्ता जिल्ला प्रशासनमा भएको छलफलअनुसार सबै पालिकाले पालिकामै नुन लिनको लागि प्रक्रीया सुरु गरेका छन्।