ललित विष्ट
कालिकट । पहिरोले कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ। अविरल वर्षापछि कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडक खण्ड अवरुद्ध भएको हो । कालीकोटको खाडाँचक्र–१० चौखोला नजिकै घरजत्रा ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए । ‘अन्यत्र डोजरले फाल्न सकिने ठाउँको पहिरो हटाइसकिएको छ।,’ उनले भने, ‘चौखोलामा घरजत्रा ढुंगा खसेकाले विस्फोट गर्नुपर्ने अवस्था छ ।’
पहिरोले सोमबार बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । उनले नेपाली सेनासँग समन्वय गरेर ढुंगा विस्फोट गरेपछि मात्र सडक खुल्ने जानकारी दिए । कालीकोटको चौखोलामा ठूलठूला ढुंगासहितको पहिरो खसेपछि आफूहरू अहिले बाटोमै अलपत्र परेको जुम्लाका कृष्णबहादुर शाहीले बताए । राजमार्गको पहिरो हटाउन जेसीवी पठाइए पनि ढुंगा ठूला भएकाले काम हुन नसकेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
आज पनि सडक नखुल्दा सयौं यात्रीहरु अलपत्र परेका छन् । पहिरोले सडकको भाग पुरै ढाकेको छ। सडकमा गाडीका लाइन दुवै तर्फ रोकिएका छन् ।
karnalipress
२९ श्रावण २०८१, मंगलवार ०८:३९