रास्कोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

ललित विष्ट,
असार १०,कालीकोट ।
कालीकोटको रास्कोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मंगलबार  एक कार्यक्रमको आयोजना गरी रास्कोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति उपप्रमुख मिना रावलले रास्कोट नगरपालिकालाई पूर्ण खोपले स्वच्छ नागरिक उत्पादनमा सहयोग पुग्ने बताइन् । उनले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने धारणा राखिन्। साथै आधारभूत स्वास्थ्य सम्बन्धी जिम्मेवारी स्थानीय सरकारको भएकाले हरेक नागरिकले सर्नेसँगै नसर्ने रोगबारे पनि ध्यान दिन आग्रह गरिन् ।

कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही (पोषण)ले पूर्ण खोप घोषणा कार्यान्वयनमा पालिका प्रतिवद्ध रहेको बताए । हरेक नागरिकको स्वास्थ्यमा नगरपालिका गम्भिर रहेको भन्दै प्रमुख शाहीले हरेक नागरिकलाई सुलभ सेवा दिन पालिका प्रतिवद्ध रहेको बताए ।
उनले खोज र खोपको महत्वबारे चर्चागर्दै रास्कोट नगरपालिकाका सबै बालवालिकालाई खोपको सुनिश्चितता गरेको बताए । महिला स्वास्थ्य स्वयं सेविकालाई एकलाख सम्मको स्वास्थ्य बिमामा जोड्ने गरी नगरपालिकाले योजना बनाएको बताए ।

नगरपालिकाभित्रका १५ महिनामुनिका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले जानकारी दिए ।

१५ महिनामुनिका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उनको भनाई छ। खोज र खोप अभियान संचालन गरि छुटेका बालबालिकालाई पुनः खोप दिएको स्वास्थ्य शाखाले जनाएको छ।

चैत महिनाभर सबै वडाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीको उपस्थितिमा बालबालिकाको सर्वेक्षण गरि अघिल्लो खोप कार्यक्रममा छुटेका बालबालिका पत्ता लगाइएको थियो ।

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै किसिमका खोप लगाएपछि रास्कोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर भिष्म पोखरेलले बताए ।
उनले भने, ‘आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ, सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।’
खोप लगाउनबाट बालबालिकाहरुलाई बञ्चित गर्न नहुने बताउँदै त्यसका लागि आ-आफनो क्षेत्रबाट सवैले भुमिका निर्वाह गर्न जरुरी रहेको उल्लेख गरे ।

यस्तै जिल्लाको नरहरिनाथ गाउँपालिका,सान्नीत्रिवेणी गाउँपालिका, शुभकालीका गाउँपालिका,पचालझरना गाउँपालिका,महावै गाउँपालिका र रास्कोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको र खाँडाचक्र नगरपालिका,पलाँता गाउँपालिका र तिलागुफा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न बाकी रहेका छन् ।

रास्कोट नगर प्रमुख धर्मराज शाही (पोषण)को अध्यक्षता र उपप्रमुख मिना रावल विश्वकर्माको प्रमुख आतित्यतामा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल,अस्पताल विकास समिति कालीकोटका अध्यक्ष गगन बहादुर मल्ल,जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भीष्म पोखरेल,वडाअध्यक्षहरू,कार्यपालिका सदस्य,विभिन्न शाखा प्रमुख तथा प्रतिनिधी,स्वास्थ्यकर्मी,स्वास्थ्य स्वयं सेवीकालगाएतको सहभागीता रहेको थियो ।