बडिमालिकामा नयाँ मन्दिर

ललित विष्ट,
असार ५,कालीकोट ।
कालीकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर पुर्ननिर्माण गरिएको छ । नेपाली सेनाले बडिमालिका मन्दिरको पुर्ननिर्माण सम्पन्न गरेको हो । गत चैत २८ गतेदेखि सुरू भएको मन्दिरको पुनर्निर्माण असार मसान्तमा सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले बताए ।

झन्डै २ करोडको लागतमा मन्दिर निर्माण भएको छ । उक्त मन्दिर समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा छ । २०५० सालदेखि नै मन्दिर पुनःनिर्माणका लागि पहल भएको थियो । तर, काम भने हुनसकेको थिएन । प्राचीन स्मारक ऐन, २०१३ अनुसार मन्दिर निर्माण गरिएको छ।

मन्दिर निर्माण गर्न भौगोलिक विकटता,प्रतिकूल मौसमका बीचमा सेनाको सक्रियताले २ महिनामै मन्दिर निर्माण भएको प्रवक्ता बस्नेतले बताएका छन् । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड समेत निर्माण गरिएको छ।

सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकोप्टर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरेको जनाएको छ। सेनाले धार्मिक ऐतिहासिक पुरातात्विक क्षेत्रको संरक्षण अन्तर्गत मन्दिर निर्माण गरेको छ । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग भएको छ ।

काठमा तराईको सालको काठ प्रयोग छ। बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्दछ । विगतका वर्ष भन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भ्रमण गर्ने आशा छ। बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाममध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।

बडिमालिका पुुगेका स्थानीयले पुनःनिर्माणपछि स्वर्गजस्तै देखिएको भन्दै खुशी व्यक्त गरिरहेका छन्। जनैपूर्णिमाको दिनमा स्वदेश र भारतबाट दर्शनार्थी आउने गरेका छन् । अछाम, बाजुरा र कालीकोट भएर बडिमालिका जाने गरिन्छ । बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने भएकाले देश बाहिरबाट समेत दर्शनार्थी मेला भर्न आउने गछन् ।
आस्थाको धरोहर
प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र बडिमालिका सुदूरपश्चिम प्रदेशको बाजुरा,अछाम र कर्णाली प्रदेशको कालीकोटको संगमस्थलमा हो भने मुख्य पूजाथान भने बाजुरा जिल्लामा पर्छ। हिन्दुहरूको आस्थाको धरोहर यति महत्त्वपूर्ण भगवतीको पीठ बडिमालिकामा मन्दिर निर्माणले धेरैलाई आकर्षित गरेको छ।


बडिमालिकाको जति चर्चा गरे पनि कम हुन्छ । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको छ। बडिमालिकाको दर्शनले मनले चिताएको पूरा हुने जनविश्वास छ। पुत्र नभएकाहरूलाई पुत्र प्राप्ति, धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ। बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास छ। बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीबेती झन् अचम्मको छ।

परापूर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्न तयार गरिएका जस्ता गह्राहरू, त्यसबीचमा फालिएका बिउका मुठाहरू जस्ताका तस्तै हुन्छन्। उहिले भगवती र मैसासुर राक्षसको लडाइँ हुँदा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किंवदन्ती रहेको बूढापाकाहरू बताउँछन्।

मेला अवधिभर भने त्रिपालमुनि अस्थायी होटलहरू सञ्चालन गरिएको हुन्छ। भक्तजनहरूले बस्न पाल, टेन्ट, लत्ताकपडा बोकेरै आउँछन्। बडिमालिका समुद्री सतहदेखि ४२ सय मिटर उचाइमा अवस्थित छ। बाटैभरि टाढासम्म फैलिएका हरिया पाटन, अग्ला पहाडहरू, थुप्रै स-साना मन्दिर, खोला, झरना आदिले मन लोभ्याउँछ।

अग्ला-अग्ला पहाडहरूमा उकालो-ओरालो गर्दै, कतै साँघुरा बाटाहरू यात्रा गरिरहँदाको थकानलाई यहाँ देखिने सुन्दर दृश्यले मेटाउँछन्। युवादेखि ज्येष्ठ नागरिक पुस्ताका भक्तजनहरू मेलामा आउने, बडिमालिका थानमा आशीर्वाद माग्ने, मनोकांक्षा पूरा भएको भन्दै धन्यवाद व्यक्त गर्न पनि भक्तहरू आउने गरेका छन्। बडिमालिकामा सरकारी स्तरबाटै पूजा गर्ने गरिन्छ। बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।

मेला लाग्ने समयमा हरियाली हुन्छ । रंगीचंगी फूल फुलेका हुन्छन् । लेकाली भेगमा पाउने विभिन्न जडिबुटीहरु पाइन्छन् । यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार र प्रवद्र्धन नपुगेको सरोकारवाला बताउँछन् । यसकारण मेलाबाहेक समय पुग्नेहरुको संख्या एकदमै कम हुने गरेको छ । भक्तजन तथा पर्यटकहरुलाई आवतजावत सहजताका लागि सोता पाटनसम्म सडक निर्माण पनि भइरहेको छ ।