
श्रावण २१, दैलेख : कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट जुम्ला जोड्ने सडक हो कर्णाली राजमार्ग। सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात कर्णाली राजमार्ग। विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैत्रबाट सञ्चालनमा आएको थियो।
साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन्। राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुले ज्यान गुमाउनु परेको छ।
सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन्। ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ। राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ। बनेका काम पनि गुणस्तरहीन हुँदा पनि सडक जीर्ण बनेको हो। कालीकोटकै बासिन्दा महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएको बेला पनि कर्णाली राजमार्गको स्तरोन्नति हुन नसक्नु दुःखद भएको स्थानीय बताउँछन्।

कर्णाली राजमार्ग अन्तर्गत बोट खोला पुल। पुल क्षेत्रमा खसिरहेको पहिरोले पुललाई क्षति पुर्याउन थालिसकेको छ।
कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक जीवन सुनारले बताए। पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको सुनारले बताए। उनले साघुँरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको गुनासो पोखेँ।
सुर्खेतबाट जुम्ला जाँदै गरेका रामबहादुर बुढाले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए। ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ’, उनले भने। सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्ने गरेको उनी बताउँछन्। वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भइ सवारी जाममा पर्ने गरेको उनले बताए।
‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्चीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन्’, बुढाले भने, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो थाहा छैन।’
ट्रयाक ओपन भएको डेढ दशक पुग्दा पनि सडकको अवस्था सुधार हुन नसकेको दुल्लु नगरपालिका–३ सियाँलाकी सुर्जा साँवदले बताइन्। ‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले असाध्यै दुःख पाएका छन्’, घरै छेउको राजमार्गलाई दिनुहुँ नियाल्दै आएकी सुर्जा भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रुपमा स्तरोन्ती भए कर्णालीका जनताले सुख पाउँथे कि?’
राजमार्ग अन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ। बोट खोला क्षेत्रमा यात्रुले सास्ती बेहोर्नु परेको छ भने दुर्घटनाको उच्च जोखिम छ। पुलमा पहिरो खसिरहेको छ। पहिरोले पुलको दाँया बाँया क्षति पुर्याउन थालिसकेको छ। कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन। कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ। @-aanapurnapost



karnalipress
२१ श्रावण २०७८, बिहीबार १९:३९