नरहरीनाथमा स्वास्थ्यकर्मीले बलात्कार प्रयास गरेको युवतीको आरोप

प्रतिकात्मक तस्बिर ।

श्रावण २३,कालिकोट। कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ७ की १८ वर्षीया एक युवतीले स्वास्थ्यकर्मी कमल बटालाले आफूलाई यौन दुव्र्यहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छिन् ।

साउन १९ गते राती साढे एक बजेको समयमा बटालाले आफूलाई जर्वजस्ती करणी गर्न खोजेको उनको दावी छ । युवतीले इप्रका कुमालगाउँमा निवेदन दर्ता गरेपछि प्रहरीले बटालाको खोजी गरि अनुसन्धानको लागि जिल्लामा बोलाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी भुपेन्द्रबहादुर शाहीले बताए ।

पीडित युवतीले भनिन्, ‘एक्कासी राति आएर ममाथि जबरजस्ति गर्न खोज्यो । यौन दुव्र्यवबहार गर्‍यो । मैले तलको कोठामा सुतेका दाजु र भाउजुलाई बोलाएपछि भाग्यो । २० गते मेरो घरमा आई पाँच सय रुपैंया दियो र बहिनी भन्दै टिका लगाएर मुद्दा मिलाउन प्रयास गर्‍यो । तर, मलाई अन्याय लागेर न्याय खोज्न प्रहरीमा आएकी हुँ ।’