नगरसभापतिमा पौडेल पक्षको पुरै प्यानल विजयी

नौरते नेपाली,असाेज ११,जुम्ला। नेपाली काँग्रेस जुम्लाको नगरसभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवाहरु विजयी भएका छन् । आईतबार राती भएको निर्वाचनबाट पौडेल पक्षका उम्मेदवारहरु विजयी भएको हुन् ।

नगरसभापतिमा रवि थापाको पुरै प्यानल विजयी भएको मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी गराउनु भयो । १ सय ७१ मत खसेकोमा थापाले ९७ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धि अंगराज चौलागाईले ५८ मत प्राप्त गर्नु भएको छ । चौलागाइलाई थापाले ३९ मत अन्तरले पराजित गर्नु भएको छ । संस्थापन देउवा पक्षको प्यानल पुरै पराजित भएको छ ।

उपसभापतिमा पौडेल पक्षका अम्बिका खत्री (उपाध्याय) र धर्मराज देवकोटाले ९७÷९७ प्राप्त गरि विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दि देउवा पक्षका जयवदुहार रावलले ५१ र निषेध शाहीले ४७ मत प्राप्त गरि पराजित हुनु भएको छ ।

पौडेल पक्षको सचिवमा मकरवहादुर रावल १ सय १२ मत र हस्त सार्कीले ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । भने देउवा पक्षका अर्जुन आचार्यले ५० मत प्राप्त गर्दै पराजित हुनु भएको छ । यसैगरि सहसचिवहरुमा पौडेल पक्षका चन्द्रवहादुर रावतले ९५ मत र सुरवहादुर भण्डारीले ९१ मत प्राप्त गरि विजयी हुनु भएको छ भने देउवा पक्षका सहसचिव पदका उम्मेदवार धनाकुमारी थापाले ४८ मत र मकर बुढथापाले ५८ मत प्राप्त गर्दै पराजित हुनु भएको छ ।

जम्मा १ सय ७१ मत खसेको मतदान अधिकृत आचार्यले जानकारी गराउनु भयो । त्यस मध्ये १६ मत बदर भएको छ । यसैगरि नेपाली काँग्रेसको सातवटा गाउँपालिकामा सर्वसहमतिका आधारमा सभापतिहरु चयन भएका छन् । नगरपालिका र पातरासि गाउँपालिकामा मात्रै निर्वाचन भएको हो ।

पातारासिमा गोरखवहादुर बोहोरा विजयी हुनु भएको छ । पौडेल पक्षका बोहोराले देउवा पक्षका दत्तवहादुर बोहोरालाई पराजित गर्नु भएको छ । अन्य ६ वटा गाउँपालिकामा नेपाली काँग्रेसको अधिवेशनबाट सभापतिहरु चयन भइ सकेको छन् । कनकासुन्दरीमा लालु बुढा, सिंजामा गोविन्द शर्मा, गुठीचौरमा टेकवहादुर भण्डारी र हिमा गाउँपालिकामा नरवहादुर शाही सभापतिमा चयन भइ सकेको नेपाली काँग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जानकारी गराउनु भयो । यसैगरि तिलामा भक्तवहादुर रोकाया र तातोपानीमा धनकृष्ण चौलागाई सभापतिमा चयन भएको उहाँका भनाइ छ ।

काँग्रेसले जिल्ला तथा प्रदेश सभापतिहरुको पनि उम्मेदवारी टुङ्ग्याएको जनाएको छ । जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीको उम्मेदवारी टुङ्गो लागेको शाहीले बताउनुभयो । उहाँका अनुसार प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका नारायण बहादुर शाही र पौडेल पक्षका लक्षिमन बोहोरा तथा प्रदेशको ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाको उम्मेदवारी टुङ्गो लागेको छ ।

यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने जनाईएको छ । यही असोज १५ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ ।

असोज महिनाको १२ गतेका दिन हुने प्रदेश “क” र “ख” को अधिवेशन हुने र असोज १५ गते जिल्ला अधिवेशन हुने भएको छ । संस्थापन देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारका बिच प्रतिस्पर्धा हुने देखिएको छ ।