पत्रकार महासंघले माइतिघरमा ऐक्यवद्धता प्रदर्शन गर्ने

असोज १९,काठमाडौं। संचार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई कानुन अनुसार दिनुपर्ने सेवा सुविधा नदिएको विरोधमा नेपाल पत्रकार महासंघले बुधवार श्रम अधिकारको पक्षमा बुधवार ऐक्यवदता प्रदर्शन गर्ने भएको छ । माइतिघर मण्डलामा अपरान्ह ३:०० वजे प्रदर्शन गर्ने महासंघले जनाएको छ ।

‘विभिन्न बाहानामा सञ्चारगृहले श्रमजीवी पत्रकारलाइ निष्काशन गर्ने, दवावपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने, नियमित पारिश्रमिक नदिने र अवकास पछि कानुन अनुसारको सेवा सुविधा नदिने जस्ता कार्य विरुद्ध नेपाल पत्रकार महासंघले पटक पटक सम्बन्धित सञ्चारगृहसंग पत्राचार, संवाद, कानुनी उपचार तथा दवाव दिदै आएको छ ।

महासंघको आग्रह र दबावका बाबजुद केही सञ्चारगृह समस्या समाधानप्रति गम्भीर नबन्दा ति सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएका छन् ‘ महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

श्रमजीवी पत्रकार ऐन कार्यान्व्यन गराइ पत्रकारका समस्या समाधान गर्नेतर्फ राज्य समेत उदासिन देखिएको छ । सञ्चारगृहबाट श्रमजीवी पत्रकारहरुमाथि अन्याय पूर्ण व्यवहार भइरहेको यो अवस्थामा दवावमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ ।

महासंघले सबै किसिमको श्रम अधिकारको पक्षमा सशक्त आन्दोलन गर्ने निर्णय गरेअनुसार २०७८ असोज २० गते माइतीघर मण्डलामा दिउँसो ३ बजे सञ्चारकर्मीको श्रम अधिकारको पक्षमा वृहत ऐक्यवद्धता प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जनाएको छ।

ऐक्यवद्धता कार्यक्रममा सहभागिताका लागि आम सञ्चारकर्मी, सञ्चार सम्वद्ध संघसस्थाहरु र श्रम अधिकारका पक्षधरहरुलाइ महासंघले आग्रह गरेको छ ।