एमाले महाधिवेशनको तयारी पूरा

चितवन — नेकपा एमालेले १० औं महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब एमाले महाधिवेशनको लागि तयार भएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइसकेका छन् ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेको दाबी छ । भट्टराईले सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने बताए ।

बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १ सय ७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पीडित क्षेत्रबाट २ सय ९ जना प्रतिनिधि आउने छन् ।कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।