शिक्षा ईकाइ प्रमुखमाथि विप्लवका कार्यकर्ताद्धारा दुर्व्यवहार

२९ मंसिर,कालीकोट। कालीकोटका शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयका प्रमुखमाथि विप्लव कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । नेत्र विक्रम चन्द नेतृत्व नेकपाको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र युवा संघका कार्यकर्ताले प्रमुख महेशदत्त देवकोटामाथि दुर्व्यवहार गरेका हुन् ।

विप्लवका कार्यकर्ताले शिक्षक सरुवामा एकलौटी गरेको, बढुवामा घुस मागेको र मनपरी लगायतका काम गरेको आरोप लगाउँदै प्रमुख देवकोटाको कार्यकक्षमै पुगेर कालोमोसो दल्ने प्रयास गरेका थिए । तर प्रमुख देवकोटाले कार्यकक्षमै चार पाँच जनाको समूहमा केटाहरु आएको र कालोमासो दल्ने प्रयास असफल पारेको  बताए ।

‘म कार्य कक्षमै थिए एक्काशी केही युवाहरु प्रवेश गरे,’ देवकोटाले भने, ‘उनीहरुले गर्न खोजेको हर्कत थाहा पाएपछि प्रतिकार गर्दा उनीहरु भागे । कालोमोसो नै लगाउन पाएनन् ।’ देवकाेटाले यस्ताे कार्यले काम गर्नमा हताेत्साहित बनाएकाे र तीन वर्षकाे अवधिमा कुनै गलत काम नगरेकाे बताए ।

तीन वर्षदेखी कार्यालयमा एक्लै काम गरिरहेकाे छु,’ देवकाेटाले भने, ‘गलत गरेपछि उजूरी गर्नुकाे सटाे कार्यकक्षमै पुगेर यस्ता गलत कार्य गर्नु राम्राे हैन् । यस्ताे गतिविधिले काम गर्ने वातावरण नै नबन्दा त्रसित बनाएकाे छ ।’ आफूमाथि दुर्व्यवहार गर्ने युवाहरुको खोजी गर्न प्रहरी कार्यालयमा जानकारी गराएको उनले बताए ।