सुर्खेत: कर्णालीमा प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे लिखित सहमति भएको छ, सहमतिपछि कर्णाली प्रदेशसभामा एमालेले गर्दै आएको अवरोध हट्ने भएको छ ।
प्रदेश सरकारले यसअघि बजेटमा राखेका टुक्रे आयोजनामध्ये मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम बाहेक १५ लाख रुपैयाँभन्दा कमका योजनाहरु कार्यान्वयन नगर्ने सहमति भएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय तह र प्रदशेसभा सदस्यको भूमिकालाई यथावत राखेर कार्यविधि सुधार गर्ने र वडा समितिको सिफारिस गरेको उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने सहमति भएको छ ।
एमालेले प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग अघि सार्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । त्यस्तै टुक्रे आयोजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै त्यसलाई हटाउन माग गरेको थियो ।
मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख प्रतिपक्ष दल एमालेका नेता यमलाल कँडेल, उपसभामुख पुष्पा घर्ती, माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीबीच भएको छलफलमा एमालेका माग सम्बोधन गर्ने सहमति भएको हो ।
karnalipress
१८ माघ २०७८, मंगलवार २०:२०