नारायण र दुल्लु जोड्ने पुलको शिलान्यास

६ फाल्गुन,दैलेख। जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिका जोड्ने पक्की पुलको शिलान्यास भएको छ । नारायण नगरपालिका–९ र दुल्लु नगरपालिका–११ को सिमाना छामघाट खोलामा मोटोरेवल पक्की पुलको शिलान्यास गरिएको हो ।

दुल्लु र नारायण नगरपालिकाको सिमा छामघाट खोलास्थित कइलकुनामा पक्कि पुलको शिलान्यास कर्णाली प्रदेश सभा सदस्य सुशील थापाले गरेका छन् । थापा दैलेख निर्वाचन क्षेत्र २ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सांसद हुन् । दुल्लु नगरपाालिकाका मेयर घनश्याम भण्डारी लगायत जनप्रतिनिधिको उपस्थितीमा पुलको शिलान्यास गरिएको हो ।

पुलको शिलान्यास गर्दै सांसद थापाले पुल निर्माणमा जनप्रतिनीधि र स्थानीय बासीले सहजिकरण गर्ने र तोकिएकै समयभित्र निर्माणको काम सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । उनले लामो समयको प्रयत्नपछि पुल निर्माणको कामले गति लिएको बताए ।

कर्णाली प्रदेश सरकारले ४ करोड ५७ लाख रुपैँया लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मार्फत पुल निर्माण गर्न थालेको हो । पुलको ११ मिटर चौडाई र ५० मिटर लम्वाई स्टेमेन्ट रहेको छ । सपना आर.बी जेभीले पुल निर्माणको ठेक्का पाएको छ ।