
ललित बिष्ट चैत्र,२० कालिकोट। कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा १४ करोड बेरुजु देखिएको छ।
तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेस्की निकासा गरी लिएको रकम हालसम्म फर्स्योट नगर्दा सबै विद्यालयमा १४ करोड २० लाख ५० हजार बेरुजु देखिएको हो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पेस्की बेरुजु भएका कारणले आगामी वर्षको बजेटमा प्रभाव पर्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटलाई तत्काल पेस्की फर्स्योट गर्न ताकेता गरेको छ।
आफूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ताकेता गरे पनि शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटले सबै विद्यालयको नाम उल्लेख गरेर चैत ३० गतेसम्म पेस्की फर्स्योट गर्न सार्वजनिक सूचना गरेपछि बेरुजु रकमबारे जानकारी भएको हो।
तत्कालीन जिल्ला शिक्षा कार्यालय कालीकोटबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि २०६९ सालदेखि आर्थिक वर्ष २०७४/७५ सम्म लिएको पेस्कीको फर्स्योट नगरेको देखिन्छ। शिक्षक संघ संगठनका नेता बस्ने र भागवण्डा गर्ने, बिनाकाम विद्यालयको खातामा रूपैयाँ जम्मा गर्न लगाउने र बिल भर्पाइ पेस नगर्दा अहिले आएर यस्तो समस्या भएको कार्यालयको भनाइ छ।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कालीकोटका निमित्त एकाइ प्रमुख प्रकाशचन्द्र धितालले आर्थिक वर्ष २०६९/७० देखि २०७४/७५ सम्मको बेरुजु देखिएको बताए। उनले भने, ‘पटक पटक स्थानीय तह मार्फत विद्यालयलाई जानकारीका लागि पत्राचार गर्दा पनि सुनुवाइ नभएपछि आफूले सञ्चार माध्यममार्फत सूचना दिएर छिटो पेस्की फर्स्योट गर्न अनुरोध गरेका छौं।’
सबैभन्दा बढी बेरुजु नरहरीनाथ गाउँपालिकाको रहेको छ। नरहरीनाथ गाउँपालिकाभित्रका विभिन्न विद्यालयको ३ करोड ८० लाख बेरुजु रहेको छ भने सबैभन्दा कम महावै गाउँपालिकाभित्रका विद्यालयको १० लाख २५ हजार रूपैयाँ रहेको छ।
दोस्रोमा खाँडाचक्र नगरपालिका रहेको छ। खाँडाचक्र नगरपालिका भित्रका विद्यालयमा एक करोड ९९ लाख ७५ हजार रूपैयाँ रहेको छ। यस्तै गाउँपालिकामध्ये दोस्रोमा बेरुजु पालाँतामा देखिएको छ। पलाँता गाउँपालिकाभित्रका विभिन्न विद्यालयको एक करोड ७४ लाख रूपैयाँ बेरुजु देखिएको छ।
यस्तै गाउँपालिकामध्ये तेस्रोमा शान्नी त्रिवेणी गाउँपालिकाभित्रका विद्यालयमा देखिएको छ। त्यहाँ एक करोड ७३ लाख रूपैयाँ रहेको छ। रास्कोट नगरपालिकाभित्रका विद्यालयको एक करोड ५५ लाख ५० हजार रूपैया रहेको छ भने तिलागुफा नगरपालिकाका विद्यालयको एक करोड ३९ लाख २५ हजार रूपैयाँ रहेको छ।
यस्तै पचालझरना गाउँपालिकाका विद्यालयमा एक करोड १६ लाख २५ हजार रहेको छ भने शुभकालिका गाउँपालिकाका विद्यालयको बेरुजु ६० लाख ७५ हजार रूपैयाँ रहेको छ। यसरी विकासे बजेट लिने र शिक्षक तलबभत्तामा खर्च गर्ने गरेका कारणले बेरुजु देखिएको शैक्षिक सरोकारवालाको भनाइ छ। शिक्षा पत्रकार समूह कर्णाली प्रदेशका संयोजक तुलाराम पाण्डेले भौतिक पूर्वाधार विकासका लागि बजेट लिने र अन्यत्र खर्च गर्ने भएकाले यस्तो बेरुजु देखिएको बताए।



karnalipress
२० चैत्र २०७८, आईतवार २०:०८