कर्णालीमा अझै गठबन्धन भित्र किचलो,

बैशाख १०,कालिकोट । स्थानीय निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा गठबन्धनको भागबण्डा नमिलेपछि विवाद चर्किँदै आएको छ आफ्नो जिल्लाको विवाद मिलाउने मुख्य भूमिकामा रहेका सत्तारुढ दलका शीर्ष नेताहरुले आवश्यक निर्णय लिन नसक्दा गठबन्धनमा समस्या देखिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा एक्ला–एक्लै प्रतिस्प्रधा गर्ने निर्णय गरिसकेका छन् । त्यस्तै सल्यान, मुगु र डोल्पामा पनि एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्र तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा पनि माओवादीले जितेको पालिका छोड्न नमान्दा तालमेलबारे कुनै भागबण्डा हुन सकेको छैन । त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृहजिल्ला सल्यानमा गठबन्धन टुटिसकेको छ ।

तालमेल नगरेर स्वच्छ प्रतिष्पर्धा गर्ने तयारीमा नेता कार्यकर्ताहरु जुटिसकेका छन् । सबैलाई मिलाएर गठबन्धन गर्ने पक्षमा आफू रहेको ज्वालाको दाबी छ । त्यस्तै माओवादीको इलाका रुकुमपश्चिममा पनि माओवादीले आफ्नो अडान छोडेको छैन । कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले आफ्नो गृहजिल्ला जुम्लामा पनि सहमति जुटाउन सकेका छैनन् । शाही कार्यकर्ताको भावना विपरीत गएर गठबन्धन गर्न नहुने पक्षमा छन् ।

कर्णाली प्रदेशका शीर्ष नेताहरु नै अरु दललाई आफ्नो दलले जितेको पालिका दिँदा आफूहरुलाई घाटा हुने लाइनमा देखिएका छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटका पालिकामा सबैलाई मिलाएर लैजाने पक्षमा रहेको दाबी गरेका छन् । उनी भन्छन्, ‘‘गठबन्धनका शीर्ष नेताहरुले छलफल गरिरहेकै छौँ । सबैलाई खुसी पारेर गठबन्धन गरेर जाने हो । कालिकोटमा समस्या छैन । यसलाई नमिलेको भन्न सकिँदैन । यस्तो विवाद त अन्तिम उमेदवारी दिने बेलासम्म भइरहन्छ । आज साँझसम्म केही न केही निष्कर्षमा पुग्छौँ ।”

यस्तै एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वाला पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको दाबी गर्छन् । यद्यपी सल्यानमा यसअघि नै गठबन्धन टुटिसकेको छ । ज्वाला भन्छन्, ‘‘गठबन्धनका सबै दललाई समेटेरै लैजानुपर्छ भन्ने हाम्रो पक्ष छ । गठबन्धन बलियो बनाएर जानुपर्छ भन्ने नै हो ।

माओवादीसँग गर्ने कांग्रेससँग नगर्ने भन्ने होइन । सबै दलबीच गठबन्धन गर्ने भन्ने हो । अहिले पुनः प्रदेशमा बैठक बस्दैछ ।” एमाले पार्टी विभाजित हुँदा प्रकाश ज्वालालगायतका नेताहरु समाजवादीमा आवद्ध भएका छन् । कर्णाली प्रदेशको हकमा तीन दलीय र पाँच दलीय गठबन्धन गर्नेबारे गृहकार्यमा नेताहरु जुटेका छन् ।

मुख्यमन्त्री शाहीको गृहजिल्ला हुम्लामा दलहरुले गठबन्धन नगरेर एक्ला–एक्लै लड्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्र हुम्लाका युवा नेता छवि थापा अब गठबन्धन हुने सम्भावना न्यून रहेको बताए । माओवादी र कांग्रेसले समाजवादीलाई चेपुवामा पार्दा तालमेल हुन नसकेको नेताहरुले बताएका छन् ।

तालमेल गर्नेबारे अहिले पनि जिल्लामा संघर्ष भइरहेको छ । जिल्लाको किचलो मिलाउन मुख्यमन्त्री शाहीले चासो नदेखाएको हुम्लाका एक नेताले बताए । प्रदेश स्तरीय पाँचदलीय गठबन्धन संयन्त्रको बैठकले १० वटै जिल्लालाई वैशाख २ गतेभित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो । तोकिएको समयमा टुंगो लगाउन नसक्दा एक दिन थप गरेको थियो । सोही समयावधि पनि चुकिसकेको छ अझै बाँडफाँडको टुंगो नलाग्दा विवाद चर्किँदै गएको छ ।