लोकतान्त्रिक निर्माण व्यवसायी संघकाे अध्यक्षमा शाही

कालीकोट — लोकतान्त्रिक निर्माण व्यवसायी संघ, कालिकोटको तदर्थ समिति गठन गरिएको छ। रचेन्द्र शाहीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको हो। जिल्लामा क्रियाशील निर्माण व्यवसायीहरूको भेलाबाट सर्वसम्मत रूपमा समिति गठन गरिएको संघले जनाएको छ।

जिल्ला नेपाली कांग्रेसका सभापति अम्म वहादुर शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा लोकतान्त्रिक निर्माण व्यवसायी संघ कर्णाली प्रदेशका संयोजक मोहनप्रकाश आचार्य प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रमका विशेष अतिथिमा स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी, तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले लोकतान्त्रिक सोच भएका व्यवसायीहरूको संगठन निर्माण क्षेत्रको स्वच्छता, पारदर्शिता र गुणस्तर कायम राख्नका लागि महत्वपूर्ण कदम भएको बताए। उनले तदर्थ समितिले छिट्टै अधिवेशनको तयारी गर्दै संगठनलाई विधिवत रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

नव नियुक्त अध्यक्ष रचेन्द्र शाहीले जिल्लामा व्यावसायिक मर्यादा, आपसी सहकार्य, र संस्थागत एकताको आधारमा निर्माण व्यवसायलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले निर्माण क्षेत्रभित्र रहेका समस्या समाधान, दक्ष जनशक्ति उत्पादन र व्यवसायीहरूको हकहितको संरक्षणमा संघ दृढतापूर्वक अघि बढ्ने बताए।

कार्यक्रममा अन्य वक्ताहरूले निर्माण क्षेत्रभित्रको अनियमितता रोक्न, प्रतिस्पर्धा सक्षम बनाउने र विकास निर्माणमा गुणस्तर कायम राख्न संघको भूमिका महत्वपूर्ण हुने धारणा राखे। भेलाले सर्वसम्मत रूपमा १५ सदस्यीय तदर्थ समिति अनुमोदन गर्दै संघको आगामी कार्यदिशा तय गरेको हो।

Oplus_16908288