विद्यालयको जग्गा २८ बर्षदेखि कब्जामा

जेष्ठ १८,सुर्खेत।  चिङ्गाड गाउँपालिकामा रहेको भैरव माध्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ बर्षदेखि एक परिवारको कब्जामा रहेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सुर्खेत चिङ्गाड गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित मिना कुमारी रोकायाको परिवारले विद्यालयको जग्गामा कब्जा गरेको हो ।

भैरव माद्यमिक विद्यालयको नाममा रहेको जग्गा विगत २८ वर्षदेखि उनको परिवारले कब्जा गरेको हो । विद्यालयको नाममा रहेको ९घ ÷८९ क्षेत्रफल ७–२–२–१ र ९घ÷९५ ०–५–०–१ जग्गा कुनैपनि सम्झौता, समन्वयबिना नै रोकायाको परिवारले भोगचलन गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रानाले उपाध्यक्षको परिवारले श्रीखेतमा रहेको आठ रोपनी जग्गा भोगचलन गर्दै आएको बताए । ‘असाध्यै उब्जनी हुने जग्गा हो । हामीले अहिले पढ्दै कमाउँदै कार्यक्रम लागू गरेका छौं । त्यसका लागि जग्गा आवश्यक पर्ने भएका कारण जग्गा छोडिदिन आग्रह गरेका छौं ।’