गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेकाे आराेपमा एक सय जनामाथि मुद्दा दर्ता,

 श्रावण १५, काठमाण्डाै। गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेको आरोपमा एक सय व्यक्तिमाथि मुद्दा दर्ता भएको छ ।

मानव स्वास्थ्यमा हानि पुर्याउने खानेपानी, दुग्धजन्य पदार्थको उत्पादन तथा मासु, दलहनलगायतका सामग्री बिक्री वितरण गरेको अभियोगमा कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरु विरुद्ध खाद्य ऐन (तेस्रो संशोधन) –२०४९ अनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्मा जरिबाना वा दुवै सजाय हुनसक्ने बताउनुभयो ।

उहाँका अनुसार अनुगमनमा क्रममा उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ ।

गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको छ । यसैगरी, गुणस्तरहीन बेकरी तथा बिस्कुट बेच्ने १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउ सातवटा, मसलाका सात, दालमोठ भुजियासम्बन्धी पाँच मुद्दा दायर भएका छन् । यसैगरी, गुणस्तरहीन दलहनलगायत मिठाई, दूध दही, काजु किसमिस, चामल, मसला, खुर्सानीको धूलो बेच्नेमाथि पनि मुद्दा चलाइएको छ ।

खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिका बमोजिम उत्पादन गरेको नपाइएका प्रशोधित पिउने पानी, दूध तथा दुग्ध पदार्थ, खाद्यान्न, दलहन र फलफूलजन्य खाद्यपदार्थलगायतका ९७ वटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमुना सङ्कलन गरी कारबाही अघि बढाइएको विभागका प्रवक्ता महर्जनले जानकारी दिनुभयो ।