रास्कोटका तीन बालक बिचल्लीमा

ललित बिष्ट जेठ ३०,कालिकोट। कालिकोटको रास्कोट नगरपालिका–४ का गुइया सार्कीको छ वर्षअघि मृत्यु भयो। त्यसको दुई वर्षपछि उनकी श्रीमती आइतीले दोस्रो विवाह गरेर गइन्। गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्षदेखि संरक्षणको पर्खाइमा छन्। बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए। चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतको काँधमा दुई भाइको जिम्मेवारी पनि थपिएको छ।

भरतसँगै सात वर्षका हस्त र पाँच वर्षका डाइमन सहाराको खोजीमा छन्। ‘बुवाको मृत्यु भयो, आमाले अर्को विवाह गरेर जानुभयो,’ भरतले भने, ‘त्यसयता आफन्तको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौं।’ बुवाको मृत्यु र आमाले अर्को विवाह गरेर गएपछि १३ वर्षीय भरतलाई दुई भाइको पालनपोषणको जिम्मेवारी पनि आइलागेको छ।

‘जन्मदिने बुबा आमाले छोडेर गएपछि गाउँमा मागेर पेट भर्ने गरेका छौं,’ भरतले भने, ‘खानलाई अन्न छैन्, लगाउनलाई टालो (लुगा) छैन्।’ भरत नौ वर्षको हुँदा आमाले अर्को विवाह गरेर गएकी थिइन्। उनले कलिलै उमेरदेखि आफू भन्दा साना दुई भाइको पालनपोषणको गह्रुँगो जिम्मेवारी बहन गरिरहेका छन्।

तीन भाईलाई खान–लाउनकै चिन्ता छ। यस्तोमा विद्यालय कहाँबाट देख्नु। ‘विद्यालय जानका लागि पोशाक चाहियो, कापी किताव चाहियो,’ उनले भने, ‘काम पाए काम गरेर खान्छौं, नपाए मागेर खान्छौं, यस्तोमा विद्यालय कसरी जानु ?’ उनले आफूहरुको पढ्ने चाहना भएपनि त्यो पूरा हुन नपाएको बताए। बुवा–आमा नहुँदा तीनै भाईको जन्मदर्ता छैन्।

आफन्तले चापायाँ बाँध्ने गोठको एक कोठा दिएका छन्। लगाउनका लागि उनीहरुको शरिरमा राम्रो कपडा छैन्। ओढ्ने र ओछ्याउने पनि उनीहरुसँग कपडा छैन्। बालकका आफन्त रामे सार्कीले तीन बालकलाई दैनिकी चलाउन समस्या भइरहेको बताए। ‘सानैमा बुवा बिते, आमाले अर्को विवाह गरेर गइन्,’ उनले भने, ‘उनीहरुलाई छाक जुटाउनै अहिले समस्या भइरहेको छ।’