कुकुरलाई काराबास,चोरी सिकारीको आरोप

१ असार,कालिकोट ।  डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा कुकुर थुनामा छ । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।

१४ चैत २०७८ मा मुगुको कार्मारोङ गाउँपालिका(१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावाछोर्देन, टासी र छिमेक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूका साथमा कुकुर पनि थियो ।

जंगली जनावर चोरी सिकारीको आरोपमा उनीहरूलाई वन कार्यालयले मुद्दा चलायो । गत जेठ १२ मा जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावाछोर्देन ७० हजार रुपैयाँ धरौटीमा रिहा भए । टासी र छिमेक साधारण तारेखमा छुटे ।

वन कार्यालयले चलाएको मुद्दामा चार जना मात्र प्रतिवादी थिए । सिकारी कुकुरको प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले कुकुरलाई थुनेर राखेको छ ।

राष्ट्रिय निकुञ्ज ऐनको दफा २८ मा ‘सिकारी कुकुरलाई मार्ने’ उल्लेख

कुनै पनि कुकुरले घोरल र मृग जस्ता जनावरको सिकार गर्‍यो भने त्यस्तो कुकुरलाई त नियन्त्रणमा लिइन्छ नै । घोरल सिकार गर्ने क्रममा कुकुर र मानिसलाई समातियो । मानिसको हकमा अदालतले अनुसन्धान गरिरहेको छ भने कुकुरको विषयमा अदालतले केही पनि निर्देशन नदिएकोले थुनामै राखिएको डिभिजन वन अधिकृत गगन महतारा बताउँछन् ।