मान्म बजारमा खानेपानीको हाहाकार

ललित विष्ट,कालीकोट – कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ। जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको स्थानीयले गुनासो गरेका छन् ।

मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै जाँदा बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन्।

पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय युवा हिक्मतजङ मल्लले बताए । उनले जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपु¥याएको भन्दै आक्रोश व्यक्त गरे ।

‘खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरवाही गरेका कारण पानी अभाव भएको छ। धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभावमा छ।’ उनले भने, ‘अहिले सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैको ध्यान गएको छैन।’

खाँडाचक्र नगरपालिका–१ स्थित बजारमा पिउने पानी अभाव भएको समयमा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरेर घरघरमा लगेको स्थानीय कमल शाहीले बताए । सर्वसाधारणको धारामा हप्तौँदेखि पानी नआएको उनको भनाई छ। खानेपानीको उचित वितरण प्रणाली नहुँदा जिल्लावासीले खानेपानी अभाव झेलिरहनुपरेको छ।