संक्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्दै

 श्रावण १५, काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ। अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।

आजको बैठक मुख्य रुपमा पछिल्लो समय संक्रमणको दर बढेको विषयमा नै केन्द्रीत हुने बताइएको छ। त्यस्तै कोरोनाविरुद्धको खोप व्यवस्थापन, भिडभाड नियन्त्रण गरी संक्रमण रोक्नेलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै संक्रमण रोकथाम र नियन्त्रणका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ। संक्रमण बढ्दै गएमा निषेधाज्ञालाई केही कडाइ गर्ने सरकारी अधिकारीहरूको तयारी छ।

नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहको छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए । बुधबार ३ हजार ८४० र मंगलबार ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।