सान्नीत्रिबेणीकाे पहिलाे निर्णय : सामाजिक सुरक्षा भत्ता घरदैलाेमै

असार१३,कालिकोट। सान्नीत्रिबेणी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नाे पहिलाे निर्णय महिना दिनभित्रै कार्यन्वयन गरेका छन् । गाउँपालिका अध्यक्ष महेश केसी र उपाध्यक्ष पार्बति सिंहले पदभार ग्रहण गरेकै दिन पहिलाे निर्णय सामाजिक सुरक्षा घरदैलाेमै बितरण गर्ने निर्णय गरेका थिए । निर्णय गरेकाे महिनादिन भित्र पालिकामा रहेकाे शानिमा बैकसँग समन्वय गरि गाउँपालिकाकाे वडानं-९ मुम्राबाट घरदैलाेमै सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेर आफ्नाे पहिलाे निर्णय कार्यन्वयन गरेका हुन् ।

सान्नीत्रिबेणी गाउँपालिका अध्यक्ष महेश केसीले जेष्ठ नागरिककाे सहजताका लागि बैकका कर्मचारी घरदैलाेमा खटाएर सामाजिक सुरक्षा बितरण गर्न थालिएकाे बताए । उनले भने, स्थानिय सरकार जनताकाे दुख, पीडा र समस्यामा साथ दिने सरकार हाे । सान्नीत्रिबेणीका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिनकै लागि झण्डै ४ घण्टा पैदल बाटाे हिड्नु पर्ने समस्या थियाे । अब ढुक्कले आफ्नै घरदैलाेमा सामाजिक सुरक्षा भत्ता पाउने भए ।

सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्बति सिंहले गाउँपालिकाका वडानं-७, ८ र ९ मा पुगेर बैकमार्फत झण्डै ४० लाख सामाजिक सुरक्षा भत्ता बितरण गरिसकेकाे जानकारी दिईन । उनले भनिन, बैंकमार्फत समाजिक सुरक्षा भत्ता बितरण गर्दा नागरिकले निकै दुख पाएका थिए । बैकमा लाईन कुर्नु पर्ने समस्या हुन्थ्याे । लामाे दुरी जेष्ठनागरिकका लागि पैदल यात्रा सहज थिएन,अब बैक आफै घरदैलाेमा पुगेर सामाजिक सुरक्षा बितरण गर्ने भयाे,जनतालाई निकै राहत भयाे ।

सान्नीत्रिबेणी गाउँपालिका वडानं-७ का स्थानिय मनराज सिंम्खाडाले सामाजिक सुरक्षा भत्ता गाउँमै पाएपछि जेष्ठ नागरिकहरु निकै खुसी भएकाे बताए । उनले गाउमा सरकार आएकाे महसुस भएकाे बताए । उनले भने, पहिले बृद्वभत्ता, बाल पाेषण जस्ता सामाजिक सुरक्षा भत्ता लिने ४ घण्टा पैदल हिडेर गाउपालिकामा रहेकाे बैकमा जानू पर्ने बाध्यता थियाे । त्यसैमा पनि कहिले नेट नचल्ने, कहिले सेवाग्राहीकाे लाईन, कहिले काजपत्र नपुग्ने जस्ता समस्याले सास्ती खेप्नु परेकाे थियाे । अब गाउमै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि निकै सहज भएकाे छ ।