कार्यालय नै शून्य बनाएर जनप्रतिनिधि गैससको गोष्ठीमा

असार १५ ,कालिकोट। कालीकोट जिल्लाको रास्कोट नगरपालिकाका जनप्रतिनिधि गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा गएपछि कार्यालय सुनसान भएको छ । जनप्रतिनिधिहरुले निमित्तलाई जिम्मेवारी दिएर सुर्खेत पुगेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

नगरप्रमुख, उपप्रमुख सहित नगरका नौ वडा मध्ये छ वडा अध्यक्ष गोष्ठीमा गएका कारणले नगरपालिका सहित पाँच वडा निमित्तले सञ्चालन गर्दै आएका छन् ।

नागरिकको सेवामा दत्तचित्त भएर काम गछौ भन्दै जनता माझ कसम खाएको सेलाउन नपाउदै नगरप्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वराल, वडा नं ३, ४, ५, ६ र ९ का वडा अध्यक्ष सुर्खेतमा एक गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा सहभागी हुन कार्यालय खाली बनाएर गएका छन् ।

आर्थिक वर्षको अन्तिम समय भएकाले योजनाको भुक्तानी, योजना अनुगमन, भुक्तानीका लागि सिफारिस आदी सबै रोकिएको स्थानीयको गुनासो छ । निमित्तले दैनिक सामान्य सिफारिस मात्र दिने अधिकार भएकाले नगरपालिका पुगेका नागरिक वाहिरवाटै फर्केर आउने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

वर्षातका कारणले गत वर्ष घरपुर्णरुपमा क्षती भएको तर घर पुर्ननिमार्णका लागि छनोटमा नपरेपछि नगरपालिका वुज्न जानु भएका रास्कोट नगरपालिका वडानं २ का हंशराज सज्यायले कुनै जानकारी नपाएर फर्किनु परेको बताए ।

सज्यालले आफ्नो घरका वारेमा जानकारी लिन प्रमुख प्रशासकिय अधिकृत, नगरप्रमुखलाई भेट्न गएको थिए । तर कोही भेटिनु भएन । धेरैलाई सोधेपछि उहाँहरु सुर्खेत जानु भएको भन्ने सुनेको बताए ।

यसबारे बुझ्दा नगरप्रमुख धर्मराज शाहीले उपप्रमुख सहित बिषेश कामले सुर्खेत झरेको बताए । नगरपालिका खाली छोड्दा नागरिकले सास्ती खेप्नु परेको भन्दै गुनासोको चाङ लाग्ने गरेको छ ।