बिरुवा बिक्री नहुदा उखेलेर नष्ट

असार २३,कालिकोट। खाँडाचक्र नगरपालिका–११ का जीवन गिरी विगत २८ वर्षदेखि विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएका छन्। यो वर्ष भने उनले उत्पादन गरेका बिरुवा बिक्री भएका छैनन्। उनले उत्पादन गरेका १० हजार सुन्तलाका बिरुवा केही दिनअघि नष्ट गरे।

उनको जनचेतना निजी फलफूल नर्सरीमा सुन्तला, ओखर, कागती, आरु, नास्पाती, किवीका बिरुवा छन्। बिरुवा बेचेरै वर्षमा दुई लाखसम्म बचत गर्दै आएका उनले यस वर्ष उत्पादन भएका बिरुवा उखेलेर नष्ट गर्नुपर्‍यो।

खाँडाचक्र नगरपालिकाको बरातु गाउँ कृषि उत्पादनमा उकृष्ट मानिन्छ तर कृषकले उत्पादन गरेका वस्तु खपत नहुँदा पेशाबाटै पलायन हुने अवस्था छ। ‘स्थानीय सरकार आउनु भन्दा अगाडि उत्पादनले बजार पाएको थियो, कृषि विकास कार्यालयले बुटाहरू लागेर जान्थ्यो,’ उनले भने– ‘अहिले स्थानीय सरकार आएदेखि हाम्रो उत्पादनले बजार पाउन छोडेको छ, उनीहरूले हामीबाट खरिद गर्दैनन्।’

नर्सरी उद्यमी तारा गिरीका अनुसार चार वर्षयता नर्सरीमा उत्पादित बिरुवाहरू बिक्री भएका छैनन्। ‘चार वर्ष भयो नर्सरीका बुटा बिक्री भएका नाई (छैनन्), पहिला वर्षमा छदेखि सात हजार बिरुवा बिक्री हुन्थ्यो।’

बजार घट्दै गएपछि उनले उत्पादन पनि घटाएकी छन्। स्थानीय सरकारले कार्यक्रम हुँदा पनि नगरपालिकाको कृषि शाखा र कृषि विकास कार्यालय कालिकोटले अहिले आफूबाट बुटा नलिने गरेको, बाहिरबाट बुटाहरू बिक्री गर्ने गरेको उनले बताइन्।

नर्सरी व्यवसायी विरु भारतीको पीडा पनि उस्तै छ। ‘कृषि व्यवसायमा केही गरौं भनेर लागियो, अहिले नर्सरीमा उत्पादन भएका बिरुवाहरू बिक्री हुन छोडे,’ उनले भने– ‘मजस्ता व्यवसायीहरू पलायन हुने अवस्था आएको छ।’ उनको नर्सरीमा कलमी सुन्तला, कागती, जुनार गरी चार हजार बिरुवा छन्।a