पत्रकार र निर्वाचन आचार संहितासम्बन्धी तालिम सम्पन्न

असार २४,काठमाडौं। प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । भच्र्युयल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दा बढी जिल्लाका ३९ मिडियाकर्मीको सहभागिता थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १३ असारमा उद्घाटन गर्नुभएको तालिम २४ असारमा उहाँले नै सम्पन्न भएको घोषणा गर्नुभयो । कार्यक्रमको समापन गर्दै उहाँले पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लंघन निकै बढेको देखिएका कारण काउन्सिलले केही समययता पत्रकार आचार संहिताको तालिम व्यापक बनाएको छ भन्नुभयो ।

‘प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारलाई समेत पत्रकार आचार संहिता अभिमुखीकरण अनिवार्य गरिएपछि केही समययता आचार संहिता उल्लंघनमा केही कमी आएको छ’ अध्यक्ष बस्नेतले भन्नुभयो ।

यसैगरी, नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले स्थानीय निर्वाचन अघि नै यो तालिम सञ्चालन गर्ने र निर्वाचन आचार संहिताको पालनामा सघाउ पु¥याउने सोच रहे पनि सो सम्भव भएन, तर संघीय तथा प्रादेशिक चुनावमा भने यसको प्रभाव देखिने विश्वास प्रकट गर्नुभयो । ‘इन्ष्टिच्यूट ३८ वर्षदेखि निरन्तर अनुशासित र कर्तव्यनिष्ट पत्रकार उत्पादनमा लागिरहेको छ, काउन्सिलको उद्देश्य पनि यही हो, दुई संस्थाले सहकार्य गर्नु आजको आवश्यकता पनि हो’ उप्रेतीले भन्नुभयो ।
तालिममा पत्रकार आचार संहिता, २०७३, लैङ्गिक उत्तरदायी निर्देशिका, अपाङ्गता मैत्री निर्देशिका, बाल मैत्री निर्देशिका, ज्येष्ठ नागरिक निर्देशिका, निर्वाचन आचार संहिता तथा भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा प्रयोगात्मक अभ्यासका साथ सघन छलफल चलाइएको थियो ।

तालिमका स्रोत व्यक्तिका रुपमा वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, कपिल काफ्ले, बविता बस्नेत र बालकृष्ण बस्नेत तथा प्रशिक्षकहरु झबिन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल हुनुहुन्थ्यो ।

तालिमका सहभागीहरुले छोटो समयमा मिडियाका विषयमा यति महत्वपूर्ण जानकारी हासिल गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका छन् । काउन्सिल र इन्ष्टिच्यूटका तर्फबाट उनीहरुलाई प्रमाणपत्र पनि प्राप्त भएको छ ।