फुकोट कर्णाली हाइड्रोपावरको लगानी जुटाइँदै

 साउन ४,कालिकोट । सरकारले आफै निर्माण गर्ने भनिएको फुकोट–कर्णाली जलविद्युत आयोजनाको लागि लगानी जुटाउने गृहकार्य सुरुभएको छ । कुल ४ सय ८० मेगावाट जलविद्युत उत्पादन क्षमताको सो आयोजनामा सरकारले अहिले लगानी जुटाउने प्रयास गरिरहेको हो ।

आगामी वर्षदेखि निर्माण कार्य सुरू गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढिरहेको छ ।सो जलविद्युत आयोजना कालिकोट जिल्लामा सान्नीत्रिवेणी गाउँपालिका निर्माण हुनेछ । फुकोट–कर्णाली जलविद्युत आयोजनाका प्रमुख हिरामन वाइबाका अनुसार आयोजनाको सम्पूर्ण संरचनाहरू सो गाउँपालिकाको वडानं. १, २ र ३ मा बन्नेछन् ।

आयोजना प्रमुख वाइबाका अनुसार उक्त कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । आयोजनाको डीपीआरका अनुसार सो जलविद्युत् आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रुपैयाँ छ । तर, आयोजना निर्माणका लागि आवश्यक पुँजी संरचनाको विषयमा पनि छलफल भइरहेको छ ।

सरकारले एक्लै निर्माण गर्ने भन्दा पनि विदेशी लगानीकर्ता वा स्वदेशी लगानीकर्तासँग पनि छलफल भइरहेको वाइबाले बताए । ‘अर्को वर्षदेखि आयोजनाको निर्माण सुरू गर्न खोजेका छौं, अहिलेसम्म लगानी सुनिश्चित भएको छैन, सरकारले मात्रै लगानी गर्न नसक्ने अवस्था देखियो, वाह्य लगानी भित्र्याउनु पर्ने आवश्यक भएकाले लगानीको सुनिश्चित कसरी गर्ने भन्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेको छ, हामी अहिले लगानीकर्ता खोजिरहेका छौं,’ उनले भने । विद्युत उत्पादन कम्पनी नेपाल सरकारको स्वामित्व भएको कम्पनी हो ।

कम्पनीले विदेशी लगानी कसरी भित्र्याउने भन्ने विषयमा टुङ्गो लगाउन सकेको छैन् ।‘अब लगानी जुटाउने तयारीमा जुटेका छौं, निजी कम्पनीलहरूले पनि यसमा लगानी गर्न सक्छन् तर, विकासकर्ता नै ठुलो कम्पनी भएकाले लगानी गर्ने सम्भावना पनि छैन, त्यसैले बैंकबाट ऋण लिएर काम गर्ने भन्ने पनि कुरा आएको छ,’ उनले भने ।

निर्माण सुरु भएको ५ वर्ष भित्रमा आयोजनाको काम सम्पन्न गर्ने योजना निर्माणकर्ता कम्पनीको रहेको छ ।कम्पनीका अनुसार हाल जग्गा अधिग्रहण, क्याम्प, ट्रान्समिसन लाइन लगायतका कामहरू भइरहेको छ । आगामी ५ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ ।

आयोजनाले कर्णाली नदीको प्रवाहलाई विद्युत् उत्पादनका लागि प्रयोग गर्नेछ र उत्पादित विद्युत् रेजिलमा प्रस्तावित निकटतम् ग्रिड सबस्टेसनमा नेपालको एकीकृत विद्युत प्रणालीमा जोडिनेछ । फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालिकोटको पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित हुनेछन् ।

मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा
फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ । विद्युत् उत्पादन कम्पनीले तयार पारेको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो ।

सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र ईआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको बताईएको छ । आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको छ ।

स्थानीयलाई १० प्रतिशत सेयर दिने
फुकोट कर्णाली अर्ध जलविद्युत् आयोजनाले प्राविधिक स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । केही समय अगाडि स्थानीयलाई १० प्रतिशत सेयर दिने घोषणा गरेको थियो । आयोजना निर्माणबाट १ हजार १४९ परिवार प्रभावित भएका छन् ।

आयोजनास्थलमा पुरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख हिरामन वाइबाले जानकारी दिए । वाइबाका अनुसार कम्पनीले ५० करोड रुपैयाँ भन्दा बढी रकम मुआब्जा वितरण गरिसकेको छ ।

सो कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ । कम्पनीले परियोजनाको डीपीआर तयार गरी मूयाङकनको क्रममा रहेको पनि वाइबाले बताए । परियोजनाको काम अगाडि बढाउने बारेमा फाइनल भइसको छैन ।