जुम्लाको काँचो स्याउ विक्रीमा

साउन २०,जुम्ला । जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको हो।

भदौ १५ गते अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन् । तर, पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली–गल्ली र चोक चोक तथा फलफूल मन्डीहरूमा जुम्लाको काँचो स्याउ विक्रीका लागि राखिएका छन् । त्यस्तै कालिकोट,काठमाडौँ, नेपालगन्ज, धनगढी विराटनगर लगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको जानकारी दिए। किसानले क्षणिक नाफा भन्दा दीर्घकालीन असरलाई ख्याल गर्नुपर्नेमा उनको जोड छ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले काँचो स्याउ निर्यात रोक्न सबै संयन्त्र मजबुद बनाउनुपर्ने बताईन्। उनले भनिन ‘ स्थानिय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ । यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’

स्थानिय तह र जिल्ला कृषि विकास कार्यालय जुम्लाकाले सुचना निकालेर भदैको पहिलो हप्ता भन्दा पछि बेच्नको लागि समन्वय गरिरहेका छन । किसानलाई आफ्नो स्याउ यो समयमा विक्री नगरे पछि घाटा लाग्ने र असिना पानिलगाएतले क्षति गर्ने समस्या पनि रहेको किसानले बताउने गरेका छन्।