प्रहरी कार्यालयकै सीसी क्यामरा चल्दैनन्

ललित बिष्ट भाद्र ५,कालिकोट । कालिकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका सबै सीसी टीभी क्यामरा अहिले चल्न छोडेका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट,प्रतिमाचोक,बीच बजार,पुरानो बसपार्कलगायतका २८ ठाउँमा सीसी टीभी क्यामरा जडान गरिएका थिए ।

स्थानीय सरकार,वित्तीय संस्था,उद्योगी तथा व्यापारीको सहयोगमा २०७५ र २०७७ मा जडान गरिएको २८ वटा सिसि टिभी क्यामरा मध्ये हाल दुईवटा मात्र सञ्चालनमा रहेका छन् । मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सीसी टीभी क्यामरा मध्ये सबैलले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

२८ वटा सीसी टीभी क्यामरा मध्ये दुईवटाले मात्र काम गर्छन्। धुवाँ,धुलो, पानी,चट्याङका कारणले क्यामरा बिग्रिएका हुन सक्छन्। सिसि टिभी क्यामरा बिग्रिँदा बजार क्षेत्रमा हुने आपराधिक घटना,चोरी,सवारी दुर्घटना लगायतका घटनाको अनुसन्धानमा समेत समस्या आएको प्रहरीले जनाएको छ ।

जडान गरिएका सीसी टीभी क्यामराबाट विगतमा अपराध अनुसन्धान सजिलो भएको थियो। विगतमा सीसी टीभी क्यामरामार्फत आपाराधिक घटनामा संग्लनलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न सजिलो भएको थियो ।

सिसि टिभी क्यामरा बिग्रिएको जानकारी आफूले नपाएको र बिग्रिएका सीसी टीभी क्यामरा पुनः सञ्चालनमा ल्याउन नगरपालिकामा बजेट नभएको खाँडाचक्र नगरपालिका प्रमुख कमल बहादुर शाहीले बताए । ‘सीसी टीभी क्यामरा मर्मत को लागि कुनै बजेट छैन् कतैबाट बजेट आएमा मर्मत गरौंला’, उनले भने ।सिसिटिभी क्यामरा जडानका सिसिटिभी क्यामरा जडानका लागि कर्णाली प्रदेश सरकारको रु २० लाख,खाँडाचक्र नगरपालिकाको १० लाख रुपैयाँ र वित्तीय संस्था तथा अन्य संघ संस्थाको १० लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।