कर्णाली करिडोरको ट्रयाक खुल्न डेढ बर्ष लाग्ने

कर्णाली करिडोरको चट्टान क्षेत्र निर्माण गरिदै तस्विर ः ललित विष्ट कालिकोट

ललित विष्ट
कार्तिक २ कालिकोट ।
कर्णालीवासीको लाइफ लाइनको रुपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गतिलिन नसक्दा हुम्ला सडक संञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलोमिटर सडकको ट्रयाक खुल्न बाँकी रहेको छ ।

कालिकोटको खुलालु देखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठीन रहेको छ । यो सडको हिल्सा,हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडकेर विकास निर्माण कार्यदलका योजना प्रमुख अनुुप पोखरेलल बताए।

सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो। सडकको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ । यो आयोजना २०६९÷चैत्र ८ बाट सुरु भएर थियो ।

आयोजना सुरु भएको दश वर्ष सम्म साढे ७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ। हालसम्म २ सय ६१ किलोमिटर ट्रयाक खुलिसकेको छ। गत आर्थिक वर्षमा आयोजनाका लागि ३० करोड बजेट विनियोजन भएको थियो। आयाजनाको प्रगति भने ज्यादै न्यून अर्थात ३८ प्रतिशत मात्र भएको निर्देशनालयले जनाएको छ। यो आयोजनाका लागि चालु आव २०७९÷८० का लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जटिल भौगोलिक अवस्थाका कारण सडक निर्माणमा अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ। भौगोलिक असहजता,मौसमी प्रतिकुलता लगायतका कारण यो खण्डमा काम समय बढी लागेको हो। त्यसमा पनि कडा चट्टान भएकाले ट्रयाक खोल्ने काम नेपाली सेनाको जिम्ममा रहेको छ ।

कर्णाली करिडोर बाँकेको जमुनाह देखि सुर्खेत,कालिकोट,बाजुरा,हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाई ४ सय १० किलोमिटर रहेको छ। सरकारले कर्णाली करिडोरलाई समेत राष्ट्रिय गौरवको आयोजनामा राखेर उच्च प्राथमिकताका साथ निर्माण थालेको हो ।

हुम्लाको सल्लीसल्ला देखि सिमकोटसम्मको ५० किलोमिटरको काम निजी क्षेत्रले गरेको हो । छार्या भिरमा आठ किलोमिटर सडक पर्ने र त्यसमध्ये ४।५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्यलाई निकै जटिल मानिएको थियो ।

कर्णाली करिडोरको खुलालु–सिमकोट खण्डमा करिब १ सय ९६ किलोमिटर र हिल्सा–सिमकोट खण्डमा करिब ७३ किलोमिटर सडक निर्माण गर्दा नेपाल सरकारले यस करिडोरका लागि ४ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरेको थियो ।

नेपाल–भारत सीमाक्षेत्र जमुनाह देखि सुर्खेत पुगेपछि कर्णाली नदीको किनारैकिनार नेपाल–चीन सीमाक्षेत्र हिल्सासम्म पुग्ने सडक नै कर्णाली करिडोर हो । कर्णाली करिडोर निर्माण पूरा भएपछि अन्य पूर्वाधारको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक अवस्थामा सुधार आउने स्थानियले बताएका छन्।