भीरबाट लडेर वडा सदस्यको मृत्यु

बैशाख ४, कालिकोट।  आइतबार साँझ सदरमुकाम मान्म बजारबाट घर फर्किने क्रममा ताडी हिरेचौर नजिकै भीरबाट लडेर खाडाचक्र नगरपालिका ४ का वडा सदस्य ४७ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको छ । उनी गत वर्ष वैशाखमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वार्चित भएका थिए ।

सदरमुकामबाट स्थानीय डिल्लीप्रसाद आचार्यसँगै घर हिँडेका खाडाचक्र ४ का वडा सदस्य विश्वकर्मा भीरबाट खसेका थिए । उनलाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको आफन्त दिपक विश्वकर्माले बताए ।

उनीसँगै भीरबाट खसेका ४० वर्षीय आचार्य सख्त घाइते छन् । आचार्यको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौं रेफर गरेको वडाध्यक्ष प्रभानन्द आचार्यले बताए । बजारबाट घर जाने क्रममा बेलुका ७ बजेतिर ओरालोमा सन्तोष र डिल्ली दुबै जना लडेको प्रहरीले जनाएको छ ।

स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्मा जिविस अन्तर्गत दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष पनि बनेका थिए । विश्वकर्मा कांग्रेस निकट नेपाल दलित संघ कालीकोटका पूर्वसभापतिसमेत हुन् ।