मुस्ताङमा हिम पहिरोको जोखिम कायमै

काठमाण्डाै। मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको उहाँले बताउनुभयो । हिजो भागदौड मच्चिँदा दुई जना शिक्षक, एक जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी घाइते भएका छन् ।