वडामै सामाजिक सुरक्षा भत्ता वितरण

तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय,उपमेयर महेन्द्रबहादुर शाही वडा नम्बर ७ छाप्रेमा पुगेर वृद्ध भत्ता वितरण गदै तस्विर ललित विष्ट कालिकोट ।

ललित विष्ट माघ १७,कालिकोट । नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम तिलागुफा नगरपालिकाले वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन्। तिलागुफा नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो ।

बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्घभत्ता बुझ्दै आएका तिलागुफा नगरपालिका—७ का ७९ वर्षीय पार्थिमल शाही यस आर्थिक वर्षको दोस्रो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएका छन्। उनि भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्तावडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन,अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ ।’

त्यस्तै गरी, तिलागुफा नगरपालिका—७ की ७६ वर्षीय रत्ना विक पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आगनमै आएको जस्तो लागेको बताउँछिन् । ‘भत्ता बुझ्नका लागि दुई घण्टा हिँडेर नाग्म बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या, अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्।’ उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ ।

तिलागुफा नगरपालिकाले वडानम्बर—७ छाप्रेका एक सय ६६ जना ६० वर्ष माथिका वृद्धवृद्धा,र ६ जना अपांङ्गलाई वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । नगरपालिका र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, र्गभवती महिला,अपांङ्ग लगायतको नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम गरेको वडानम्बर —७ का वडाअध्यक्ष दिपबहादुर शाहीले बताए ।

त्यस अवसरमा वडामा रहेका वृद्धवृद्धा एकल महिला,अपांग,गर्भवती तथा सुत्केरी महिला लगायतको बैंक खाता समेत खोल्न सुरु गरिएको छ । भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नकालागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

यस अघिसम्म दिनभरी लगाएर सकी नसकी नगरपालिका र मान्म पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि वृद्धहरू खुशी भएका छन् । भत्ता बुझ्नकै लागि दुई दिनको दुरीमा रहेको बैंकमासम्मको कष्टकर यात्रा गर्न नपरेको भन्दै स्थानीयले  खुसी व्यक्त गरे ।

सामाजिक सुरक्षा भत्ता वडामै पाउदा उनिहरु जस्तै धेरैलाई राहत भएको बताउदै तिलागुफा नगरपालिकामा लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाईनमा बसी लिनुपर्ने बाध्यताको अन्त्य भएको मेयर शंकरप्रसाद उपाध्यायले बताए ।

तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय,उपमेयर महेन्द्रबहादुर शाही नेपाल ईन्भेष्टमेन्ट बैंक,मेगा बैंकका कर्मचारी लगायत वडानम्बर ७ को छाप्रेबाट सामाजिक सुरक्षा भत्ता बितरण सुरू गरिएको हो । साथै यो अभियान प्रत्यक वडाहरुमा निरन्तर जारीरहने नगरपालिकाले जनाएको छ । मंगलबार वडा नम्बर ८ को ओखर भिटाका नागरीकलाई पनी सामाजिक सुरक्षा भत्ता वितरण गरीएको छ