माघमै फुल्यो लालीगुराँस

ललित विष्ट माघ २५, कालिकोट । मान्म । कालिकोटका वनमा माघमै लालीगुराँस फुलेको छ। फागुन चैतमा फुल्ने लालीगुराँस जलवायु परिवर्तनको असरले माघमै फुलेको कालिकोटका मदन रोकायाले बताए ।

डिभिजन वन कार्यालय कालिकोटका अनुसार पहाडमा तापक्रम बृद्धि भएसँगै चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको जनाएको छ । लालीगुँरास राष्ट्रिय फूल भए पनि संरक्षणको अभावमा मासिदै गएको खाँडाचक्र नगरपालिका –१ अध्यक्ष धर्मराज ताम्राकारले बताए । सम्बन्धित निकायले यसको उपयोगिता र महत्वका बारेमा जानकारी दिने र संरक्षणका लागि ठोस कार्ययोजना नबनाउँदा गुराँस लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि ५ हजार ६ सय मिटरको उचाइसम्ममा गुराँस पाइन्छ । कालिकोटको वन क्षेत्रमा पर्ने समुन्द्र सतहको दुई हजारदेखि ५ हजार उच्चाइसम्म पर्ने वन क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस पाइने गरेको छ।

रातो गाडा रंग भएको,सेतो अनि हल्का गुलाबी रंग देखिने गुराँस कालिकोटका वनहरूमा पाइने गरेको छ । पहिले आठ प्रकारका लागि गुराँस पाइन्थ्यो तर हाल त्यो गुराँस हराउँदै गएको छ । अहिले ग्रामीण क्षेत्रको वनमा लालीगुराँसले ढकमक्क बन्ने गरेका छन् ।