प्रभावकारी बन्दै प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम

फाल्गुन ५ ,कालिकोट । कालिकोटमा ‘प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार प्रहरीले विद्यालयलहरूको साझेदारीमा कालिकोटका सम्पूर्ण विद्यालयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम प्रभावकारी भएको हो।

विद्यालय र समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृतिका रूपमा रहेको बालविवाह नियन्त्रणमा विद्यालयका विद्यार्थीसमेत अग्रसर हुन थालेका छन्। यो कार्यक्रमबाट विद्यालयमा हुने विभिन्न घटना, बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, दाइजो प्रथा, छाउपडी प्रथा, जातीय विभेद, आत्महत्याजस्ता सामाजिक विकृति र विसंगति न्यूनीकरण गर्न कालिकोटमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम प्रभावकारी भएको प्रहरी भनाइ छ।

कालिकोटका ९ वटा स्थानीय तहका सामुदायिक विद्यालयमा सचेतना जोगाउने काम गर्दै आएको छ। प्रहरीले समुदायदेखि विद्यालयसम्म सचेतनामूलक कार्यक्रम गर्दा विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो बन्दै गरेको छ। समाजमा प्रहरीसँगको विश्वास बढ्दै गएको पाइएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

कालिकोटमा गाँउ, टोल, समाज, विद्यालय र विद्यार्थीलक्षित सडक सुरक्षा, लागुऔषध दुव्र्यसनी, बालविवाह, बहुविवाह, घरेलु हिंसा, दाइजो प्रथा, छाउपडी प्रथा, जातीय विभेदविरुद्ध विद्यालयमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार प्रहरी विद्यालय सम्पर्क कार्यक्रमले विद्यालयमा हुने हिंसा, समाजमा हुने घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसा, आत्मरक्षा महिनावारीजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरी सचेतना जगाउँदा यो कार्यक्रम प्रभावकारी भएको बताए।

यो कार्यक्रम अहिले कालिकोटका प्रत्यक आभारभूत, माध्यमिक र उच्च माध्यमिक विद्यालयमा चलिरहेको छ। सुरक्षित कर्णाली प्रदेश, विशेष अभियान सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताएका छन्।

उनका अनुसार अबको एक हप्तामा कर्णालीका १० जिल्लामा लागु हुने गरी प्रहरीसँग स्थानीयको गुनासो सहज रूपमा पु¥याउन, समाजमा हुने आत्महत्या, झैझगडालगाएका विभिन्न समस्या स्थानीय स्तरमा गई समाधान गर्न सक्ने गरी सुरक्षित कर्णाली विशेष अभियान सुरु गर्ने बताए। निरीक्षणका क्रममा कालिकोट पुगेका प्रहरी प्रमुख ढकालले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम निकै राम्रो रहेको बताएका छन्। उनले कालिकोटका विद्यालयहरूको समेत निरीक्षण गरेका छन्।