बालविवाह रोक्न धामीझाँक्री सम्मेलन

असार ३,कालिकोट । कालिकोटमा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री आजभोलि बालविवाह नगराउने प्रतिबद्धता गरेका छन् । बालविवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहितहरू बालविवाह नगराउने निर्णयमा समेत पुगेका छन् ।

जिल्लाको शुभकालिका गाउँपालिबामा बालविवाह रोक्न धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ । उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित जुट्ने निर्णय भएको हो ।

अहिले गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र पण्डितहरू एकजुट भएका छन् । धामीझाँक्री तथा पण्डितहरूकहाँ विवाहको लगन,साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ–आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।

त्यसैगरी धामीझाँक्री र पण्डितहरूले सार्वजनिक कार्यक्रम मार्फत बालविवाह गरेको घरको भोजभतेरमा नजाने प्रतिबद्धता समेत जनाएका छन् । बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको छ । किर्डाक नेपालको सहजिकरण तथा शुभकालिका गाउँपालिकाको आयोजनामा शनिवार गाउँपालिकामा रहेको सबै धाँमी झाँक्री र पण्डितहरूले बालविवाह विरुद्ध एक भएर लाग्ने प्रतिबद्धता जनाए ।

बालविवाह नगरि वसेका ६ जना किशोरी सम्मानित भएका छन्। शुभकालिका गाउँपालिकाद्वारा आयोजित धामीझाँक्री सम्मेलनमा १ सय २० जना धामीझाँक्री तथा पुरोहितहरूलाई फेटा (पगरी) बाँधेर सम्मान गरेको हो। धामीझाँक्रीहरूको पञ्चेबाजासहितको ¥यालीले बजार परिक्रमा गरेपछि छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।
बालबालिका वा दुवै तर्फका परिवारहरू विवाह गर्न र गराउन राजी भई लगनका लागि धामीझाँक्री वा पुरोहितकोमा आउँदा लगन नदिएर २० वर्षपछि मात्र बिहे गर्न सुझाव दिई पठाए बापत उक्त सम्मान गरिएको किर्डाक नेपालका परियोजना संयोजक प्रकाश शाहीले जानकारी दिए ।
बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ, यसको अन्त्यका लागि धामीझाँक्री नै अग्रसर हुनुपर्ने भएकोले विभिन्न विकल्पको खोजी गरिरहेको बताए । पालिकामा पहिले बालविवाहको दर ५८ प्रतिशत हुने गरेकोमा अहिले १५ प्रतिशतमा झरेको बताए ।

‘बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,’ धामीझाँक्री सम्मेलनमा शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले भनिन्,‘त्यसैले अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न गाउँपालिकामा कार्यक्रम गरेका हौं ।’ गाउँमा अब उमेर पुगी गरेको विवाहमा मात्र आफूहरू जाने व्यवस्था गरेको गाउँपालिका उपाध्यक्ष शाहीले बताइन् । बालविवाह रोक्नलाई गाउँमा गएर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन पनि भइरहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बालविवाह,छाउपडी प्रथा, घरेलु हिंसा जस्ता सामाजिक विकृति मुक्त गाउँपालिका बनाउने अभियानमा धाँमी,झाँक्री र पण्डितहरूको साथले उत्साह थपिएको बताए । उनले भने, ‘हामी हिंसा र विभेद मुक्त समाज बनाउने अभियानमा छौँ। यो अभियानलाई सफल बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरेका छौँ।’ यो भन्दा पहिला जिल्लाको तिलागुफा नगरपालिकामा पनी धामीझाँक्री सम्मेलनमा सम्पन्न गरीएको छ ।