जुम्ला– दुर्गम जिल्ला मुगुसहित कर्णाली प्रदेशका नौ जिल्लामा राष्ट्रिय प्रसारणलाइन विद्युत पुगेको छ । आइतबारदेखि मुगुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत बलेसँगै कर्णालीका १० वटा जिल्लामध्यै नौ जिल्लामा राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तार भएको हो ।
३३ केभी प्रसारण लाइनमार्फत् ११ केभीमा चार्ज गरेर मुगुमा राष्ट्रिय बत्ती पु¥याइएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोट हँुदै जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्ममा ट्यापिङ गरी करिब ९३ किलोमिटर लाइन निर्माण गरेर मुगुको सदरमुकाम गमगढीसम्म विद्युत विस्तार भएको विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।
उनले भने, ‘मुगुमा सबस्टेसन निर्माणाधीन अवस्थामा छ । त्यसैले सिधै ३३ केभी प्रसारणलाइन पुगेको छैन । तर ३३ केभी लाइनलाई ११ केभीसँग जोडेर नाग्ममा ट्यापिङ गरी मुगु बत्ती पु¥याइएको छ । सबस्टेसन बन्ने बित्तिकै ३३ केभी सिधै मुगु पुग्छ । अब कर्णालीको हुम्ला जिल्लाबाहेक नौ वटा जिल्ला राष्ट्रिय बत्तीको पहुँचमा पुगेका छन् ।’
प्राधिकरणले आइतबारबाट गमगडीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगडी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगाड र आसपासका क्षेत्रमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ ।
उनका अनुसार यसअघि नै कर्णालीका जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, डोल्पा र कालिकोट जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुगिसकेका छन् । अब कर्णाली प्रदेशको हुम्ला जिल्लामात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । अझै प्रसारण लाइन पुग्न बाँकी हुम्लामा पनि लाइन विस्तारका लागि ठेक्का सम्झौता सम्पन्न भई सर्भे भइरहेको छ ।
साना जलविद्युत समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारणलाइन पुगेपछि समाधान हुने नेपाल विद्युत प्राधिकरणका कर्णाली प्रदेश प्रमुख यादवको भनाइ छ । राष्ट्रिय प्रसारणलाइन पुगेसँगै मुगुमा विद्युतीकरण कार्यलाई तीव्र रूपमा अगाडि बढाइने प्राधिकरणको योजना छ । अहिले मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् ।
गत वर्षको असोजको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति गरेको थियो । तर पनि स्थानीय उत्पादन भरपर्दो नहुँदा लामो समयदेखि राष्ट्रिय लाइनको प्रतीक्षामा रहेका मुगुबासी उत्साहित भएका छन् ।
मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगडीमा ३३÷११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारणलाइन पुगेपछि समाधान हुने बताए ।
karnalipress
२६ भाद्र २०८०, मंगलवार १५:११