
असोज १९, कालिकोट ।
परीक्षण उडानका लागि दुई पटक म्याद गुजारेको कर्णालीका दुई विमानस्थलको फेरि नयाँ मिति तोकिएको छ । कालिकोटको सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भदौ १३, असोज १३ गरेर तोकिएका दुईवटा मितिले भाका नाघे पनि अब नयाँ मिति असोज २४ गते जुरेको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।
कालिकोटको सुनथरालीमा २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालिकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको हो ।
त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो ।
सरकारको योजनामा परे पनि निर्माणको काम भने नियमित हुन सकेन । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर, अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।
त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मसिनेचौरमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भई २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातका लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ ।
डोल्पाबाट प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर शाहीले पर्यटनमन्त्रीसँग आफ्नो कुरा भइरहेको भन्दै असोज २४ गते परीक्षण उडान हुने दाबी गरे ।
कर्णालीका लागि विशेष बोल्ड निर्णयसमेत हुने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएकाले परीक्षण उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
जहाज अभाव र प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको उनको भनाइ छ । प्रधानमन्त्री दाहालद्वारा विमानस्थल परीक्षण उदटन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि, दाहाल देशबाहिर रहेकाले कार्यक्रम स्थगित गर्नुपरेको मन्त्रालयले जानकारी दिएको छ । नरहरिनाथ गाउँपालिका–१ मा उक्त विमानस्थल रहेको छ ।
karnalipress
१९ आश्विन २०८०, शुक्रबार ०८:५५