छ्याप्छ्याप्ती बढ्दै भ्रुण हत्या

ललित विष्ट,पुस ५,कालिकोट। कालिकोटको खाँडाचक्र नगरपालिकाकी १९ वर्षिया एक किशोरीको स्कुलका सहपाठी किशोरसँग प्रेम सम्बन्ध बस्यो। बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै गयो। किशोरी गर्भवती भएपछि किशोर बिस्तारै टाढिँदै गए। प्रेमीले धोका दिएपछि ती किशोरी गर्भपतन गराउन बाध्य भइन्। उनले २०८० साउनमा मान्मस्थित एक क्लिनिकमा चार साताको गर्भपतन गराएकी थिइन्।

प्रेमीले दिएको धोकापछि गर्भपतन गराउनु परेका कारण ती किशोरी केही समय विक्षिप्त जस्तै भइन्। अहिले रोकिएको पढाइलाई भने निरन्तरता दिएकी छन्। प्रेमका नाममा बिहे अगावै शारीरिक सम्पर्क राख्ने र प्रेमीले धोका दिएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण दुर्गममा गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ। यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन्।

चिकित्सकका अनुसार बिहेअघिको शारीरिक सम्बन्धले समाजमा बदनाम हुने, पारिवारिक र सामाजिक बहिस्कारमा पर्ने डरले लुकीछिपी असुरक्षित गर्भपतन गराउँदा ज्यानै जोखिममा पर्छ। बिहे अघिको सम्बन्धबाट रहेको गर्भपतन गराउन मेडिकल पसलबाट जथाभाबी औषधि किनेर खाने प्रवृत्ति पनि बढेको छ।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी २७ बर्सिया फिलिन (परिवर्तित नाम) को १० महिनाका छोरा छन्। पहिलो सन्तान सानो छँदै उनी गर्भवती भइन्। त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन्। गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी फिलिनले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन्। पतीले गर्भपतनका लागि ल्याइदिएका औषधि उनले खाइन्। औषधि सेवन गरेको केही घण्टापछि रक्तस्राव हुन थाल्यो। गर्भपतन भयो भनेर उनी ढुक्क भइन्। तर लामो समयसम्म रक्तस्राव रोकिएन। कमजोरी महसुस हुँदै गयो। उनी भित्रभित्रै डराउन थालिन्, चिन्तित हुन थालिन्। पति पनि आत्तिए। हतार–हतार उनलाई अस्पताल पुर्‍याइयो।

चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनुपर्ने र गर्भ पनि राम्ररी सफा भई नसकेकाले पाठेघर सफा गर्नुपर्ने सल्लाह दिए। चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेकी भए ज्यानै जोखिममा पर्न सक्थ्यो।

त्यस्तै रास्कोट नगरपालिकाकी पानकली (परिवर्तित नाम) ले बिहे गरेको पाँच महिना मात्र भएको थियो। बच्चा जन्माउने इच्छा नहुँदा नहुँदै उनी गर्भवती भइन्। फिलिनले जस्तै उनले पनि गर्भपतन गराउने निधो गरिन्। घरबाट मेडिकल पसलमा पुग्न दुई घण्टा पैदल हिँड्नुपर्थ्यो। नजिकै भरपर्दो स्वास्थ्य संस्था थिएन। दुई घण्टा हिँडेर मेडिकल पसलमा गएका पतिपत्नी साँझ घर फर्किए। पानकलीले मेडिकलवालाले भनेजस्तै औषधि सेवन गरिन्। औषधि सेवन गरेको केही घण्टामै रक्तस्राव हुन थाल्यो। अत्यधिक रक्तस्राव हुन थालेपछि उनी आत्तिन थालिन्। धन्न जीवन तलमाथि भएन, यसैमा उनी खुसी छन्। गर्भपतन गराउन सरकारी अस्पतालबाट निःशुल्क औषधि पाइने भए पनि अरूले थाहा पाउँछन् कि भनेर र सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास नलागेर निजी मेडिकल पसल/क्लिनकमै जाने गरेको पीडितहरूको भनाइ छ।

गर्भपतन गराउन जथाभाबी औषधि खाएर जोखिम झेल्नेहरू कर्णालीमा सयौँ छन्। कतिपय गम्भीर स्वास्थ्य संकटमा परेका छन्। वैध स्वास्थ्य संस्थामा सहज पहुँच नहुनु, विभिन्न बाध्यता र चेतना अभावमा कर्णालीका गर्भवती असुरक्षित गर्भपतन गराउन बाध्य छन्। प्रदेश अस्पताल सुर्खेतकोे तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय बढी जना गर्भवतीले गर्भपतन गर्न बाहिरको औषधि सेवन गरेर प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन्।

असुरक्षित गर्भपतनको कारण चेतनाको कमी

गर्भपतन रहरले गराउने होइन। यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन्। गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन्। गर्भपतन गराउने केही विधि प्रचलित छन्। ती सुरक्षित विधि हुन्। अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ। तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन्। असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी डाक्टर संकेत विश्वर्कमाले बताए।

कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठुला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन्।

नेपालको कानुनले नै १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ। तर अहिले १५ हप्ताभन्दा माथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन्। नेपाल सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ। तर कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याब्लेटको ६ सयदेखि २ हजार रुपैयाँसम्म तिरी गर्भपतन गर्ने गरेको कर्णालीका महिला बताउँछन्।

के छ कानुन ?

गर्भपतन सेवा लिन कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ। यस्तै सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ। सूचीकृत संस्थामा तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन। एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्याङ्कले बताउँछ।

औषधि पसलेहरू तथा सम्बन्धित स्वास्थ्यकर्मीबाहेकले यस्ता औषधिको बिक्री–वितरण गर्न नपाउने समेत नियम छ। तर केही औषधि पसले तथा अनधिकृत वा अयोग्य स्वास्थ्यकर्मीले क्षणिक आर्थिक लाभका लागि भारतीय बजारबाट ल्याएका कमसल औषधि बिक्री–वितरण गर्ने गरेको डाक्टरहरू बताउँछन्। निःशुल्क रूपमा पाइने औषधिलाई मान्छेअनुसार औषधि पसलेले ठग्ने गरेको डाक्टर पन्तको भनाइ छ। मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) गर्नुपर्ने मान्यता छ। अर्को महत्त्वपूर्ण पक्ष गर्भपतन पूर्ण रूपले भयो वा भएन भनेर परीक्षण गर्नु हो।

नेपाल सरकारले सूचीकृत नगरेका ठाउँमा गर्भपतन सेवा लिनु भनेको अवैध र असुरक्षित भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

औषधि पसलेलाई औषधि सेवन र यसको डोजबारे जानकारी नै हुँदैन। कति हप्ताको बच्चा छ भनेर पनि थाहा हुँदैन, जसले गर्दा विभिन्न समस्या निम्तिने गर्छन्। औषधिको डोज धेरै भए अत्यधिक रक्तस्राव हुने, पाठेघर नै फुट्ने, पूरै गर्भपतन नहुने, साल अड्केर आउनेजस्ता समस्या देखिन सक्छन्। त्यस्तै परिवार नियोजनको बारेमा धेरैलाई जानकारी नहुनुले पनि असुरक्षित गर्भपतनका घटना बढ्दै गएको पाइन्छ।

घट्दै छोरीको सङ्ख्या?

जबकि कानुनले भ्रूण पहिचान गरेर गर्भपतन गराउनु लाई अपराध मान्छ । भ्रूण पहिचान कानुनी रूपमा बन्देज हुँदा हुँदै पनि समाजमा छ्यापछ्याप्ती भ्रूण हत्याका घटना बढिरहेको अनुमान गर्न गाह्रो छैन ।

यसबाट के प्रस्ट हुन्छ भने गर्भपतनले कानुनी मान्यता पाएपछि पनि भ्रूण हत्याको श्रृखंला हाम्रो समाजमा भने झनै तीव्र गतिमा बढिरहेको छ। शिक्षा र चेतनाको कमी, सांस्कृतिक र सामाजिक रूपमा छोराको महत्त्व बढी हुनु यसका उदाहरण हुन्।  घरको आर्थिक जिम्मेवारी छोराले हेर्नु पर्छ भन्ने सोचाइले गर्दा छोराको शिक्षादीक्षामा जोड दिइनुले पनि समाजमा छोरा प्राप्तिको चाहानालाई सङ्केत गर्छ।

धार्मिक रूपमा रहेको रुढीवादी मान्यताका कारण छोराको चाहना बढी हुने गरेको छ। समाजमा छोराको चाहनामा स्वास्थ्य क्षेत्रका केही लालची व्यक्तिको व्यापारिक नाफाको सोचले डढेलो लगाइदिएको छ। त्यसमा स्वास्थ्यकर्मीको पैसाको लालचले गर्दा आफ्नो पेसागत मर्म बिर्सेर पैसाका लागि जे गर्न पनि तयार भएका कारण भ्रूण हत्याले भयावह रूप लिन थालेको डाक्टरहरू बताउँछन्।

भ्रूण हत्या आज हाम्रो समाज भित्र भुसको आगो झंैफैलिरहेको छ। यो विकृति यसैगरी फैलिरहने हो र यसमा समाज र राज्यले मौनता साँधिरहने हो भने यसले सामाजिक सन्तुलनमा मात्र हैन प्राकृतिक सन्तुलनमा समेत यसले असर पार्ने जानकारहरू बत्ताउँछन्।