उत्कृष्ट कृषक पुरस्कृत

असार २७,कालिकोट । मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा कालिकोटका २१ जना कृषकहरु पुरस्कृत भएका छन् । कृषि विकास कार्यालय कालिकोटको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा विभिन्न बाली लगाएर उत्कृष्ट भएका कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो ।

मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा प्रथम हुने कृषकलाई दश हजार, द्वितियलाई सात हजार र तृतियलाई पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेको छ ।

कृषि विकास कार्यालय कालिकोटका नायब शुब्बा गणेशबहादुर बुढाका अनुसार फलफूल,तरकारी,खाद्यन्न बाली,मसला बाली,आलु खेती नगदे बाली,मौरीपालन तथा च्याउ खेति गर्ने उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय कालिकोटका प्रमुख बालकराम देवकोटाले कृषकहरुले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनहरुमा कृषकको हितका लागि विभिन्न अवसरहरु उपलब्ध गराउने बताए । यस पटक उत्कृष्ट हुने कृषकले अर्को पटक अझै राम्रो काम गर्नसमेत उनले सुझाव दिए ।

जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाहीले कर्णाली प्रदेशमै सबैभन्दा बढी सिँचाई आयोजनाहरु पाएको कालिकोट जिल्लाले कृषि क्षेत्रतिर ठूलो विकास गरेको बताए । उनले भने, ‘पुरस्कृत हुने सम्पूर्ण कृषकहरुलाई थप सहयोग गर्न म माथिल्लो निकायसँग पहल गर्नेछु ।’ कालिकोटका स्थानीय तहमा भौगोलिक कठिनाई हुँदा हुँदै पनि कृषि विकास कार्यालयले विभिन्न आयोजनाहरु सम्पन्न गर्नु गौरवको कुरा रहेको समन्वय प्रमुखको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कृषिका क्षेत्रमा अन्य जिल्लाहरु भन्दा कालिकोटमा धेरै विकास भएको बताए । उत्कृष्ट काम गरेर पुरस्कृत भएका कृषकहरुले अझै विभिन्न अवसर पाएर अर्गानिक खाद्यवस्तु उत्पादन गर्नतिर लागे जिल्लाको कृषि विकासको क्षेत्र बलियो हुने उनको विश्वास छ ।

पुरस्कृत कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कालिकोटका कर्मचारीहरु तथा सरोकारवालाहरुको उपस्थित रहेको थियो ।