
भाद्र २४,चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयमा एक सय १५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन् । उनीहरूको माग करार नियुक्ति पाउनुपर्ने छ । आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका डीन डा. होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाई भैँसीलाई आज बिहान मजदुरले दाना पानी दिएको बताउनुभयो ।
आन्दोलनरत मजदुरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । चार दिनसम्म दानापानी खान नपाएपछि गाई भैँसीकाे अवस्था दयनीय बनेको छ । उहाँले भन्नुभयो, मजदुरले दूध दुहेर नालीमा फाल्दै आएकामा निकै अनुरोधपछि बङ्गुरका बच्चालाई दिइएको छ । दैनिक ७० लिटर दूध हुने गरेकामा अहिले ३० लिटर हाराहारीमा उत्पादन हुने गरेको बस्नेत बताउनुहुन्छ ।
गोठमा एक हप्तामा ६ भैँसी ब्याएका छन्, चौध ब्याउने अवस्थामा छन् । रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उहाँको भनाइ छ । गोठमा भर्खरै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ । गोठमा १९ गाई छन् । गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यससँगै अध्ययनका लागि २६ बङ्गुर, ६ बाख्रा, १० कुखुरा, स्थानीय सुँगुर छ, भर्खरै एक लाख ५० हजार रुपैयाँमा खरिद गरेर ल्याइएको एउटा राँगो र २० भेडा छन् । ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द गरेपछि पूर्ण रूपमा प्रभावित बनेको उहाँ बताउनुहुन्छ ।
गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदुरलाई अनुरोध गरेर आज बिहानदेखि दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ । गोठमै रहनुभएका बस्नेतले भन्नुभयो, यो अत्यावश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौँ । गोठमा २६ मजदुर काम गर्दछन् । तीमध्ये १४ दैनिक ज्यालादारीका हुन् । बाह्र जना करारका रहेका छन् । अन्य विभागमा काम गर्ने आन्दोलनरत मजदुरले समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उहाँले जानकारी दिनुभयो ।
कानुनमा श्रेणीविहीन कर्मचारीलाई करारमा नियुक्त गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउनुहुन्छ । आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आफूहरूले पशुचौपायाको दानापानी नै प्रभावित हुने गरी आन्दोलन नगरेको जिकिर गर्नुभयो । विश्वविद्यालय प्रशासनले आफूहरूको मागको बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताउनुभयो । माथिल्लो तहका केही मजदुरलाई करारका लागि प्रक्रिया अघि बढाइएको भए पनि योग्यता भएर पनि अन्यले अवसर नपाएको न्यौपाने बताउनुहुन्छ । by-उज्यालो



karnalipress
२४ भाद्र २०७८, बिहीबार ११:५५