दैलेखमा २२ बालबालिका सहित २ सय ३० एचआईभी संक्रमित

२३ मंसिर दैलेख । दैलेखमा एचआईभी/एड्स संक्रमितकाे संख्या २ सय ३०  रहेकाे छ । तीमध्ये २२ जना बालबालिका रहेकाे स्वास्थ्य सेवा कार्यालय दैलेखकाे तथ्यांक छ ।

कार्यालय प्रमुख थीरप्रसाद रेग्मीका अनुसार  जम्मा संक्रमितमध्ये १९२ जनाले नियमित एआरटी औषधी सेवन गरेका छन् । संक्रमित संख्या देखिएपनि नयाँ संक्रमितकाे संख्या कम वृद्धि भएकाे उनले जानकारी दिए । रेग्मीका अनुसार गत आर्थिक वर्षमा २ जना नयाँ संक्रमित थप भएका हुन् ।

‘संक्रमित दर घट्ने कुरा भएन । तर बसाइ सराइ, मृत्यु लगायतका कारणले कम हुने गरेका छन् ।’ रेग्मीले दुल्लूखबरसँग भने, ‘संक्रमित बढ्ने दर पनि सामान्य रहेकाे छ ।’

एचआईभी/एड्सबाट प्रभावित बालबालिकालाई बार्षिक ६ हजार रुपैयाँ भत्ता उपलब्ध गराएकाे छ । ‘संक्रमितहरुका लागि एआरटी औषधी स्वास्थ्य सेवा कार्यालय दैलेख र स्वास्थ्य चौकी राकम कर्णालीबाट उपलब्ध गराएका छाैं ।’ उनले भने, ‘एचआईभी/एड्सबाट प्रभावित बालबालिकालाई औषधीसहित बार्षिक ६ हजार रकम उपलब्ध गराउँछाैं ।’

जिल्लामा एचआइभी संक्रमितकाे संख्या सबै भन्दा बढी आठविस नगरपालिकामा रहेका छ ।साथै, दैलेख प्लसले समेत एचआईभी एड्स प्रभावित बालबालिकालाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । दैलेख प्लसका जनक शाहीका अनुसार सेभ द चिल्ड्रेन/ग्लोबल फण्डको सहयोगमा बालबालिकालाई रकम प्रदान गरिँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लामा एचआईभी संक्रमित व्यक्तिहरुको अवस्था चिन्ताजनक नरहेको पाईएको छ । यद्धपी एच.आई.भी./एड्स संक्रमितहरुमाथी समाजमा हुने भेदभाव अवहेलना अन्त्य हुन सकेको छैन् ।विश्व एड्स दिवस मनाउन लागेको ३३ वर्ष पुरा भइसकेको छ । तर, संक्रमितप्रतिको भेदभाव र लाञ्छना भने हटिसकेको छैन ।